काठमाडौँ । वाग्मती प्रदेश सरकारले सार्वजनिक सवारीसाधनको नयाँ भाडादर निर्धारण गरेको छ ।
प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले मन्त्रीस्तरीय निर्णयअनुसार भाडा घटाएको हो । नयाँ भाडादरअनुसार काठमाडौँ उपत्यकाभित्रका सार्वजनिक सवारीसाधनको भाडा १ रुपैयाँले घटेको छ ।
भाडा यसअघि ५ किलोमिटरसम्मको १९ रुपैयाँ रहेको थियो भने १० किलोमिटरसम्मको भाडा २५ रुपैयाँ रहेको थियो । १५ किलोमिटरसम्म यात्रा गर्दा पहिला ३० रुपैयाँ रहेकोमा अहिले २९ रुपैयाँ तोकिएको छ । यस्तै, २० किलोमिटरसम्मको भाडा पहिला ३३ रुपैयाँ रहेकोमा अहिले ३२ रुपैयाँ तय गरिएको छ । २० किलोमिटरभन्दा लामो दूरीको भाडा पहिले ३८ रुपैयाँ रहेकोमा अहिले ३७ रुपैयाँ तोकिएको छ ।
यस्तै, वाग्मती प्रदेश सरकारले उपत्यका बाहिर जाने सवारीसाधनमा गत जेठ ११ गतेदेखि लागु गरेको भाडादरमा २.३० प्रतिशत भाडा कम गरेको छ । यात्रुले यो भाडादरमा १५ किलोग्रामसम्मको सामान निःशुल्क र सोभन्दा बढीको प्रति १० किलोग्रामको ५ रुपैयाँ दरले भाडा तिर्नुपर्ने गरी भाडादर तोकिएको छ ।

