काठमाडौँ । काठमाडौँ उपत्यकाको सार्वजनिक यातायात सुधारका लागि बनेको ‘संघीय राजधानी शहरी क्षेत्र सार्वजनिक यातायात परिषद्’ले काम थालेको छ । ‘शहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण ऐन-२०७९’ ले उपत्यकाको सार्वजनिक यातायात सुधारमा काम गर्ने गरी परिषद् र प्राधिकरणको प्रावधान गरेको थियो ।
परिषद्को पहिलो बैठक बिहीबार बसेको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह ‘बालेन’को अध्यक्षतामा बसेको बैठकले उपत्यका सार्वजनिक यातायात प्राधिकरणको कार्यक्षेत्रमा पर्ने कुनै पनि निर्णय गर्दा परिषद्सँग अनिवार्य समन्वय गर्नुपर्ने निर्णय गरेको हो ।
बैठकमा बालेनले परिषद्ले आफ्नो क्षेत्रभित्रको काम थालेको जानकारी दिएका छन् । ‘यसअघि नेपाल सरकार, प्रदेश सरकार वा यातायात क्षेत्रको नियमन, व्यवस्थापन गर्ने कार्यालयहरूले सञ्चालन गरेका वा निर्णय गरेका कामलाई सार्वजनिक लाभ र दिगोपनाको विश्लेषण गरेर नियमित सञ्चालन गरिनेछ,’ उनले भने ।
मेयर साहका अनुसार विगतमा गरिएका नीतिगत निर्णयको कार्यान्वयन र कार्यान्वयन भएका नीतिको नतिजालाई कार्यक्रम सञ्चालनको आधार बनाइने भएको छ । ‘ऐनले प्रदान गरेका अधिकारमध्ये ९० प्रतिशत काम पालिकाले नियमित प्रक्रियाबाटै सञ्चालन गर्न सक्नेछन् । यसका लागि थप बजेट पनि चाहिँदैन,’ उनले भने, ‘यसमा अधिकारको कुराभन्दा कर्तव्यको कुरा आउँछ, धेरै काम पालिका आफैँले सञ्चालन गर्न सक्ने खालका छन् ।’
बैठकले प्राधिकरणको कोष सञ्चालन सम्बन्धमा छलफल गर्दै नेपाल सरकारले यातायात व्यवस्थापनका लागि यसअघि गर्दै आएको खर्च कोषमा जम्मा हुने प्रणाली विकास गर्न नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय समेत गरेको छ । नेपाल सरकारले बनाउने प्राधिकरणको नियमावलीका व्यवस्थामाथि प्राधिकरणका तर्फबाट सुझाव पेश गर्ने विषयमा बैठकले छलफल गरेको छ ।
बैठकमा ललितपुर महानगरपालिकाका प्रमुख एवम् परिषद्का उपाध्यक्ष चिरिबाबु महर्जनले यातायात क्षेत्रको व्यवस्थापन गर्ने काममा प्राधिकरण र परिषद्ले दोहोरोपनलाई हटाउनुपर्ने बताएका छन् ।







