काठमाडौँ । काठमाडौँको गैह्रीगाउँमा भएको सामूहिक हत्या प्रकरणको अनुसन्धानका लागि नेपाल प्रहरीले ५ सदस्यीय अनुसन्धान समिति गठन गरेको छ ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी दीपक थापाले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरको नेतृत्वमा छानबिन समिति गठन गरेका हुन् ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीका अनुसार उक्त समितिमा काठमाडौँ प्रहरी परिसरका डीएसपी हरि खतिवडा, काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका डीएसपी सुवास खड्का, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयकी डीएसपी सुरक्षा केसी र प्रहरी वृत्त नयाँ बानेश्वरका प्रहरी निरीक्षक वीरेन्द्र केसी रहेका छन् ।
गएराति तीनकुनेस्थित गैह्रीगाउँको दिव्य सःमिलभित्रको कटेरोमा एकै परिवारका तीनसहित चार जनाको हत्या भएको हो । शनिबार बिहान टाउको र शरीरका विभिन्न भागमा खुकुरीजस्तो हतियारले प्रहार भएको अवस्थामा प्रहरीले चार जनाको शव फेला पारेको हो ।
काठ मिलमा गार्डको काम गर्ने दोलखाका ५५ वर्षीय कुमार भुजेल, उनकी ५२ वर्षीया श्रीमती अम्बिका भुजेल, कुमारकी ७६ वर्षीया आमा सुभद्रा भुजेल र मोरङ बेलबारी स्थायी घर भएका अन्दाजी २० वर्षका नवीन राईको हत्या भएको प्रहरीले जानकारी दिएको छ ।
हत्यामा संलग्न रहेको आशङ्कामा प्रहरीले सोधपुछका लागि काठ मिल भएकै घरमा बस्ने २८ वर्षीय दीपेन्द्र राईलाई नियन्त्रणमा लिएको छ । दीपेन्द्र नवीनको साथी भएको प्रारम्भिक अनुसन्धानमा खुलेको पनि प्रहरीको भनाई छ ।
सम्बन्धित समाचार : गैह्रीगाउँ हत्या प्रकरण : चार वटै शवको सनाखत, शङ्कास्पद एक जना पक्राउ
सम्बन्धित समाचार : काठमाडौँको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या