काठमाडौँ । स्वार्थ बाझिने रेटिङ गरेपछि नेपाल धितोपत्र बोर्डले केयर रेटिङस् नेपाललाई कारबाही गरेको छ । २ असोज मंगलबार बसेको नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिको बैठकले केयर रेटिङ्सलाई नगद जरिवाना गराएको धितोपत्र बोर्ड स्रोतले जनाएको छ ।
नियम विपरीत स्वार्थ बाझिने रेटिङ गरेको पुष्टि भएपछि बोर्डले कम्पनीलाई ५० हजार रुपैयाँ नगद जरिवाना गरेको हो । विशाल ग्रुपको मुख्य लगानी रहेको केयर रेटिङ्सले सोही समूहको मुख्य लगानी रहेको अन्य कम्पनीको रेटिङ गरेपछि नेपाल धितोपत्र बोर्डको २४ पुस २०७९ मा बसेको सञ्चालक समितिको बैठकले स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरण सोधेको ८ महिना नाघेपछि कारबाही गरेको हो ।
क्रेडिट रेटिङ नियमावली २०६८ को उल्लङ्घन गरी आफ्नो मुख्य सेयरधनीको क्रेडिट रेटिङ गरेको भन्दै बोर्डले २४ पुस २०७९ मा कारबाही गर्ने निर्णय गरेको थियो । कम्पनीलाई धितोपत्र सम्बन्धी ऐन २०६३, को दफा १०१ (७) अनुसार हदैसम्मको कारबाही किन नगर्ने ? भनी सफाइ पेश गर्न निर्देशन दिएको थियो । यस्तै कम्पनीलाई क्रेडिट रेटिङ नियमावली २०६८ विपरीत गरेको रेटिङ किन रद्द नगर्ने तथा केयर रेटिङ्स नेपाल लिमिटेडको अनुमतिपत्र किन निलम्बन नगर्ने ? भनी स्पष्टीकरण पेश गर्न बोर्डले निर्देशन दिएको थियो ।
विशाल ग्रुपको लगानी रहेका यो रेटिङ कम्पनीले विशाल ग्रुपकै लगानी रहेका कम्पनीहरूको बैंकिङ ऋणका लागि रेटिङ गरेको पाइएपछि कारवाहीको निर्णय गर्दै बोर्डले स्पष्टीकरण सोधेको थियो ।
स्पष्टीकरण सोधेर कारबाही नगरी यसै रोकिएकोमा सोही कम्पनीले विशाल ग्रुपकै लगानी रहेको घोराही सिमेन्टको आईपीओको पनि रेटिङ गरेको थियो । उक्त आईपीओका लागि नेपाल धितोपत्र बोर्डले विवरणपत्र स्वीकृत गरेपछि बोर्डको कार्य पनि विवादास्पद बन्न पुग्यो । घोराही सिमेन्टको आइपिओ स्वीकृत गर्दै स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आइपिओ निष्कासन गरी बाँडफाँट भएर सर्वसाधारणलाई निष्कासन गरेको चौथो दिन बोर्डले आइपिओ निष्कासन रोकेको थियो ।