काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले अभियन्ता ई:ले उठाएको मागप्रति संवेदनशील रहेको बताइन् र फुटपाथ व्यवसायीलाई उचित व्यवस्थापन गर्नुपर्ने मागसहित विरोधमा राष्ट्रिय सभागृह अघि उभिएका ईःलाई भेटेर यस्तो बताएकी हुन् ।
उपप्रमुख डङ्गोलले करिब २० मिनेट जति उनीसँग कुराकानी गरेको थिइन् । उनले भेटपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मानवीय संवेदनाका हिसाबले पनि भेट्नुपर्छ भनेर भेट गरेको र उहाँहरूको मागबारे जानकारी लिएको बताइन् ।
‘ईः लगायत केही दिनदेखि आफ्नो माग पूरा गर्नुपर्छ भनेर आन्दोलनमा हुनुहुन्छ,’ डङ्गोलले भनिन्, ‘मैले उहाँहरूसँग आज भेट गरेँ । मैले उहाँहरूलाई भेट्नुको उदेश्यचाँहि मानवीय हिसाबले जे भइरहेको छ, त्यो संवेदनशील छ भन्ने मनन गरेर हो ।’
उपमेयर डङ्गोलले जनताका कुरा तर्कसङ्गत छन् वा छैनन् त्यो फरक कुरा भएको भन्दै कुरा सुन्नुपर्ने बताइन्। ‘मैले उहाँहरूसँग भेट गरेँ, उहाँहरूका कुरा सुनेँ,’ डङ्गोलले भने, ‘म काठमाडौँ महानगरपालिकाको उपप्रमुखको हैसियतले भन्नुपर्दा उपप्रमुखको कार्यकारी भूमिका छैन । त्यसैले यसो गर्नुपर्छ, उसो गर्नुपर्छ भन्ने मेरो कार्यकारी जिम्मेवारी छैन । मैले गर्न सक्ने भनेको समन्वय हो । समन्वयकारी भूमिका मैले विगतदेखि नै गर्दै आएको छु र त्यसको निरन्तर प्रयास जारी नै छ ।’







