काठमाडौँ । मालिका गाउँपालिका-५ मल्कवाङ घरथोकस्थित वनमा लुकाएर राखिएका सात थान भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ ।
मंसिर २ गते बिहान ६ बजे इलाका प्रहरी कार्यालय दरबाङबाट प्रहरी निरीक्षक रवीन्द्र कार्कीको नेतृत्वमा खटिएको टोलीले गस्तीका क्रममा ती बन्दुक फेला पारेको नेपाल प्रहरीले जनाएको छ ।
बरामद गरिएका बन्दुकमध्ये पाँच थान साबुत र दुई थान बेसाबुत अवस्थामा छन् । ती बन्दुक इलाका प्रहरी कार्यालय दरबाङमा राखिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





