काठमाडौँ । नेकपा एमालेको गण्डकी प्रदेश अधिवेशनमा अन्ततः प्यानलगत रूपमा नै चुनावी प्रतिस्पर्धा हुने भएको छ । उपाध्यक्ष विष्णु पौडेल-उपमहासचिव पृथ्वीसुब्बा गुरुङ समूह र महासचिव शङ्कर पोखरेल-स्थायी कमिटी सदस्य खगराज अधिकारी पक्षधर पदाधिकारीमा प्यानलसहित चुनावमा होमिएका हुन् । दुबैतिर प्यानल लिस्टमा नभएका अर्जुनकुमार सुनामले पनि उपसचिवमा उम्मेदवारी दर्ता गराएका छन् । तर, उनी खगराज प्यानलसँग नजिक छन् ।
अधिवेशनमा गण्डकीका ११ जिल्लाबाट ९ सय ७ प्रतिनिधि छनोट भएका छन् । कास्कीबाट सबैभन्दा धेरै एकसय ४६ र मनाङबाट सबैभन्दा कम १४ प्रतिनिधि अधिवेशनमा सहभागी छन् । १५ गतेदेखि सुरु भएको अधिवेशनमा बुधबार मनोनयन दर्ता हुँदा १६५ जना लागि ३ सय ८२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
दुवै अध्यक्षका उम्मेदवार तथा तिनलाई साथ दिइरहेका नेताहरुले आआफ्नो जीत निश्चित भएको प्रचार गरिरहेका छन् । दुई प्यानलबीच नतिजा आफ्नो पक्षमा ल्याउन कसरत भइरहेको छ । तेस्रो धारको अभ्यास गरेका भनिएका सचिव पद्मा अर्याल र स्थायी कमिटी सदस्य किरण गुरुङ दुवै समूहले आफूतिर लागेको भन्दै प्रचार गरिरहेका छन् । तर, उनीहरू भने बाहिर देखिने गरी कतै खुलेका छैनन् ।
प्यानलै मनोनयन दर्ता भए उम्मेदवारी नै खारेज गर्ने बताएका सचिव तथा गण्डकी प्रदेश इन्चार्ज गोकर्ण विष्टले अझै पनि सर्वसम्मतिका लागि प्रयास गर्ने बताएका छन् । अधिवेशनमा विभिन्न क्लस्टरमा २७ जना निर्विरोध निर्वाचित भएका छन् ।