काठमाडौँ । सभामुख देवराज घिमिरेले उच्च तहका नेता र पदाधिकारी बोलाएर कार्यक्रमको उद्घाटन गर्नु सामन्तवादकै सिको भएको बताएका छन् ।
बुधवार काठमाडौँमा फोटो पत्रकार केशवराज थोकरद्वारा लिखित पुस्तक लाइफ इन पेण्डामिकको लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले उच्च तहका नेता र नेतृत्वमा रहेका व्यक्तिहरूलाई बोलाएर कार्यक्रम उद्घाटन गर्ने परम्परा हटाउन जरुरी रहेको बताए। उनले पुस्तक विमोचन कार्यक्रममा साहित्यकार वा पत्रकारितामा जीवन बिताएका लेखकको पुस्तक भएकाले पत्रकारहरू नै प्रमुख अतिथि बनाउन योग्य हुने उनको भनाइ थियो।
राजतन्त्र हुँदा राजा वा राजाको परिवारहरू विभिन्न ठाउँमा उद्घाटन, शिलान्यास लगायतका कार्यक्रम हुने भन्दै अहिले पनि सोही कुरालाई निरन्तरता दिनु सामन्तवादकै सिको भएको बताए।
उनले भने, ‘पुस्तक लोकार्पण कार्यक्रममा म नै किन आउनुपर्यो होला ? यो विवेचनाको विषय हो। तपाईँहरूले यसमा विवेचना गर्नुस्, निष्कर्ष निकाल्नुस् र एउटा कन्सेप्ट बनाउनुस्। त्यसको मतलब के हो भने म भन्दा अरूलाई बोलाएर यो कामको उद्घाटन गर्नु वेटर हुन्थ्यो । किनभने विगतमा हाम्रो राजतन्त्र हुँदा राजा वा राजाको परिवारहरू विभिन्न ठाउँमा गाँसिन्थे । विभिन्न ठाउँमा लगेर उहाँहरूलाई उद्घाटन, शिलान्यासका कार्यक्रमहरू अर्थात् कुनै न कुनै रूपबाट गाँसिन्थ्यो । किनभन्दा त्यो एउटा सेन्टर पावर थियो, पावरको नजिक जान पाइयो भने त्यसले सफलता हासिल गर्न, आइपर्ने समस्या टार्नका लागि त्यसले संरक्षण गर्छ भन्ने सोचबाट त्यो काम हुन्थ्यो । सामन्तवादलाई अन्त्य गर्नको लागि खेलेको भूमिकामा पत्रकार जगतको भूमिका महत्त्वपूर्ण छ, तर हामी त्यसकै सिको त गरिरहेका छैनौँ ?’ घिमिरेले पुस्तक विमोचन कार्यक्रमको प्रमुख अतिथि पत्रकार वा साहित्यकार बनाएको भए व्यवहारिक हुने उल्लेख गरे।







