काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले काँग्रेसलाई नयाँ पुस्ताले गर्व गर्न लायक बनाउने बताएका छन् । शहीद लीला-यशोदा दाहाल स्मृति प्रतिष्ठानले आइतबार आयोजना गरेको प्रजातान्त्रिक सेनानी एलबी गुरुङ सम्मान तथा पुस्तक वितरण कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले काँग्रेसको विगतको गौरव गर्न लायक इतिहासलाई संरक्षण गर्दै नयाँ पुस्तालाई पनि काँग्रेसमा आकर्षित गर्ने बताए । नेपाली काँग्रेस नेपालको सबैभन्दा पुरानो राजनीतिक पार्टी भएको उल्लेख गर्दै उनले पार्टीको इतिहास, योगदान र लोकतान्त्रिक आन्दोलनका उपलब्धिलाई संस्थागत रूपमा संरक्षण गर्ने जानकारी दिए । आधुनिक नेपालको इतिहास लेख्दा नेपाली काँग्रेसको योगदानलाई अलग राख्न नसकिने उनको भनाई छ ।
उनले भने, ‘हामी पुरानो पार्टी हौँ भनेर लुकाउने होइन, गर्वका साथ भन्ने हो । नेपालको सबैभन्दा पुरानो पार्टी नेपाली काँग्रेस हो । आधुनिक नेपालको इतिहास लेख्दा नेपाली काँग्रेसबाट सुरु नगरी इतिहासका पाना अगाडि बढ्न सक्दैनन् । अहिले हामीहरू जुन युगमा आएका छौँ, नेपाली काँग्रेस पार्टी सम्हाल्नका निम्ति, पार्टीको स्थापनाकालीन जुन यसका भ्यालुजहरू हुन्, त्यसलाई हामी फेरि पक्रन्छौँ, नेपालका सबैभन्दा नयाँ पुस्ताका साथीहरूलाई काँग्रेस भएकोमा गौरव लाग्ने अवस्था हामी बनाउनेछौँ । हामी बनाएर छाड्नेछौँ । त्यो दिन थियो हिजो, त्यो दिन फेरि ल्याउनेछौँ ।’
उनले शहीद, प्रजातन्त्रका सेनानी तथा तिनका परिवारहरू पार्टीको सम्पत्ति रहेको बताए । सानो उमेरमै लोकतन्त्र र नागरिक अधिकारका लागि जीवन बलिदान गरेका युवाहरूको योगदान केवल राजनीतिक स्मृतिमा सीमित हुन नहुने उनको भनाई छ ।
पार्टीमा लागेका व्यक्तिको सफलताको मापदण्ड पद र राजनीतिक नियुक्तिलाई मात्र बनाउन नहुने उनले बताए ।
सांसद, मन्त्री, प्रधानमन्त्री वा पार्टीको जिम्मेवारी प्राप्त गरेपछि मात्र जीवन सफल भएको मान्ने प्रवृत्तिले लामो समय पार्टीमा योगदान गरेका तर पद नपाएका कार्यकर्ता र तिनका परिवारको योगदानलाई अवमूल्यन गर्ने उनको भनाई छ ।
उनले भने, ‘हामीले सम्मान गरेको एलबी गुरुङ २०४६ सालको आन्दोलन र पछाडिको बेलामा उहाँहरूको नाम सुन्थ्यौँ, यस्ता कत्ति योद्धाहरू हुनुहुन्छ, जसले नेपाली काँग्रेस पार्टीमा आफ्नो जीवन दिनुभयो । हामीले पार्टी पार्टीको आन्दोलन, पार्टीको यी सबै यो अभियानमा सहभागी हुने साथीहरूको जीवनको सफलताको मानक उसले कुन पद पायो कि पाएन भनेर हेर्यौँ भने वा त्यसरी बनायौँ भने सफल हुनेभन्दा असफल हुनेहरूको लाम लामो हुन्छ । किनभने पार्टीभित्रको पद पनि थोरै हुन्छ, राजकीय पद पनि थोरै हुन्छ । कसैले अनि त्यो कसैले सांसद भयो वा मन्त्री भयो वा प्रधानमन्त्री भयो वा पार्टीको केही जिम्मेवारीमा आयो भने चाहिँ जीवन सफल भएको नभए जीवन असफल भएको भन्ने भयो भने, त्यसरी परिभाषित गरियो भनेदेखि उसको परिवारलाई नै के लाग्छ भने मेरो बुवाको जीवन असफल भयो कि क्या हो, यत्रो पार्टीमा लाग्यो, यत्रो गरेको भन्ने लाग्छ । आफन्तलाई लाग्छ, छरछिमेकलाई लाग्छ र बिस्तारै बिस्तारै सबैलाई लाग्दै जान थाल्छ । त्यसैले यो परिभाषा पनि बदल्नुपर्छ । पद नपाउँदैमा कसैको जीवन असफल हुँदैन ।’
उनले नेपाली काँग्रेसका पुराना नेता तथा कार्यकर्ताको योगदान अभिलेखीकरण गर्न पार्टीले विशेष अभियान अघि बढाएको पनि जानकारी दिए । पार्टी कार्यालयलाई नेपाली काँग्रेसको स्थापना कालदेखि हालसम्मको राजनीतिक यात्रा, लोकतान्त्रिक आन्दोलन र ऐतिहासिक घटनाक्रमबारे जानकारी दिने स्थलका रूपमा विकास गर्ने उनको भनाई छ । पार्टी कार्यालय प्रवेश गरी अर्को गेटबाट निस्कँदासम्म आगन्तुकले काँग्रेसको इतिहास र नेपालको राजनीतिक परिवर्तनमा पार्टीको भूमिकाबारे जानकारी पाउने गरी संरचना तयार गरिने उनले बताए । देशका ७५३ वटै स्थानीय तहबाट प्रजातन्त्रका सेनानीहरूको विवरण संकलन गरी राष्ट्रिय अभिलेख तयार गर्ने अभियान सुरु गरिएको उनले जानकारी दिए । संकलित विवरणलाई डिजिटल अभिलेखका रूपमा व्यवस्थित गर्ने उनको भनाई छ ।
सभापति थापाले शहीद परिवार, प्रजातन्त्रका सेनानी तथा द्वन्द्वपीडित परिवारलाई लक्षित गरी १० करोड रुपैयाँको अक्षयकोष स्थापना गर्ने पनि जानकारी दिए । उक्त कोषबाट विशेष गरी शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग उपलब्ध गराउने लक्ष्य रहेको उनले बताए । अक्षयकोष स्थापनाको काम यसै वर्षदेखि नै सुरु गरिने उनको भनाई छ । उनले पार्टीका ऐतिहासिक व्यक्तित्वहरूको स्मृति र सम्मानका कार्यक्रम अबदेखी पार्टी कार्यालयमै गर्ने पनि जानकारी दिए।







