काठमाडौँ । जाजरकोट केन्द्रबिन्दु भएर गए राति गएको भूकम्पमा परी ३७ भन्दा बढीको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालय जाजरकोटको प्रशासकीय अधिकृत एवं सूचना अधिकारी हरिश्चन्द्र शर्माका अनुसार ३७ जनाको मृत्यु भएको आधिकारिक पुष्टि भएको छ । जसमध्ये सख्त घाइते ४७ जनालाई अस्पताल भर्ना गरिएको छ ।
‘प्रहरीको आधिकारी तथ्याङ्क अनुसार ३७ जनाको मृत्यु भएको पुष्टि भएको छ’ अधिकारी शर्माले प्रशासनसँग भने, ‘बढी घाइते ४७ जनाको अस्पताल भर्ना गरिएको छ, उहाँहरूमध्ये ८ जना गम्भीर घाइतेलाई प्रादेशिक अस्पताल सुर्खेत राति नै रिफर गरेर पठाइएको छ ।’ उनका अनुसार १०० भन्दा बढी व्यक्तिको सामान्य उपचार भइरहेको छ ।
मृतकको संख्या अझै बढ्न सक्ने देखिएको उद्धारमा संलग्न अधिकारीहरूले जनाएका छन् । जिल्ला सदरमुकामलगायत आसपासका क्षेत्रहरूमा घरहरू धेरै क्षति भएको र रातिको समयमा धेरै ठाउँ पुग्न नसकिएको बताइएको छ । बारेकोट गाउँपालिका, नलगाड नगरपालिका, कुशे गाउँपालिका बढी प्रभावित भएको सूचना अधिकारी शर्माले जानकारी दिएका छन् ।
शर्माका अनुसार कतिपय पालिकाहरूमा अझै सम्पर्क हुन सकेको छैन, जसका कारण कति जनधनको क्षति भयो भन्नेबारे जानकारी नै लिन सकिएको छैन । ‘दुर्गमका पालिकाहरूमा दिउँसो सोलरबाट मात्रै चल्ने र राति सम्पर्क नहुने भएका कारण सम्पर्क विहीन छन् उनले प्रशासनसँग भने, उद्धारका लागि खटिएको टिमसमेत दोहोरो सम्पर्कमा आउन सकेका छैनन् । जसका कारण एकिन तथ्याङ्क आउन सकेको छैन’