काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिका–३ लप्सीफेदीमा निर्माण हुन लागेको विद्युत् सबस्टेशनको सुरक्षाका लागि प्रहरी पोष्ट राख्न गएको सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
लप्सीफेदी क्षेत्रको सुरक्षाका लागि प्रहरी पोष्ट राख्ने सरकारको निर्णयअनुसार शुक्रबार साँझ प्रहरी पोष्ट स्थापना गर्न गएका प्रहरीमाथि स्थानीयले ढुंगामुढा गरेका थिए। आक्रमणबाट केही प्रहरी घाइते भएका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी)कुमोध ढुङ्गेलका अनुसार प्रहरीमाथि आक्रमण गर्ने ४ जनालाई शुक्रबार नै नियन्त्रणमा लिइएको थियो। आज थप ११ जनालाई नियन्त्रणमा लिइएको हो।
प्रहरीले स्थानीय जयमान वाइबा, सूर्यमान तामाङ, सुकबहादुर वाइबा, हर्कबहादुर तामाङ, तुलाराम तामाङ, मानबहादुर तामाङ, अशोक तामाङ, दिपक तामाङ, मानबहादुर तामाङ, राजमान तामाङ, अन्जु तामाङ, माइली तामाङ, सन्यमाया तामाङ, माया तामाङ र अञ्जी तामाङलाई नियन्त्रणमा लिएको एसपी ढुङ्गेलले प्रशासनलाई बताए।
नेपाल विद्युत प्राधिकरणले शंखरापुर नगरपालिका–३ स्थित बोझेनीमा तामाकोशी तथा सुनकोशी नदी र तिनीहरूका सहायक खोलाहरूमा निर्माण भएका तथा हुने जलविद्युत आयोजनाको विद्युत काठमाडौँ उपत्यकामा ल्याउन र स्थानीय रूपमा आपूर्तिका लागि ४००र२२०र१३२र११ केभी सबस्टेसन निर्माण गर्न लागिरहेको छ।
सबस्टेसन निर्माणका लागि आवश्यक पर्ने सबस्टेसनका लागि ५० जना जग्गाधनीहरूको करिब एक सय ७४ रोपनी जग्गा अधिग्रहण गरिएको छ।
जग्गा अधिग्रहणका लागि २०७४ जेठमा सार्वजनिक सूचना प्रकाशित गरी सोही वर्षको माघमा मुआब्जा तथा क्षतिपूर्ति रकम निर्धारण गरिएको थियो। जग्गाधनीहरूले मुआब्जा तथा क्षतिपूर्ति रकम राजीखुसीले बुझिसकेका छन्। मुआब्जा तथा क्षतिपूर्तिबापत करिब ५० करोड रुपैयाँ वितरण गरिएको छ।