काठमाडौँ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता गर्ने दिन नजिकिए सँगै सत्ता गठबन्धनले पहिले चार दलबीच छलफल गर्ने र लगत्तै प्रमुख प्रतिपक्षी नेकपा (एमाले) सँग छलफल गर्ने भएका छन्।
सत्ता गठबन्धनबीच माघ ११ मा हुने चुनावका लागि सिट बाँडफाँटका विषयमा छलफल हुन लागेको हो।
सत्ता गठबन्धनका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी र नेकपा एकीकृत समाजवादीबीच बुधबार अपराह्न ३ बजे बालुवाटारमा छलफल हुने भएको छ।
काँग्रेसका तर्फबाट छलफलमा सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र नेता रमेश लेखक तथा माओवादीबाट अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव वर्षमान पुनबीच छलफल भएको हो। यससँगै शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नेलगायत विषयमा पनि छलफल गर्ने तयारी दलहरूको छ।







