काठमाडौँ । नेपाली काँग्रेसले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । साथै पार्टीले संसदमा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने निर्णय लिएको छ ।
पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा आज बसेको काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उक्त निर्णय गरेको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए ।
बैठकले २०७९ मङ्सिर ४ गते सम्पन्न आमनिर्वाचनमा साझा ढंगले गरिएका वाचा र निर्वाचनमार्फत मतदाताले दिएको कार्यादेशप्रति काँग्रेस प्रतिबद्ध रहेको तर त्यो कार्यादेशलाई बेवास्ता गर्दै प्रधानमन्त्री दाहालले अविश्वसनीयरुपमा अन्य राजनीतिक दलसँग सहकार्य गर्ने निर्णय गरेपछि त्यसप्रति असहमति जनाउँदै समर्थन फिर्ता लिएको उनले बताए ।
संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्दै सुधारोन्मुख अर्थतन्त्रलाई गति प्रदान गर्दै नागरिक पङ्क्तिमा नवीन आशा जगाएर अघि बढ्नुपर्ने समयमा गठबन्धन नियोजित ढंगले भत्काइएको निष्कर्ष बैठकले निकालेको महामन्त्री शर्माले बताए ।
प्रधानमन्त्री दाहालको यो कदमले अन्योल र अस्थिरतालाई बढावा दिएको काँग्रेसको सम्म्याइ छ । बैठकले यो घटनालाई गम्भीर ढंगले लिँदै संसदमा प्रतिपक्षको भूमिका सशक्तरुपमा निर्वाह गर्ने निर्णय गरेको छ ।
बैठकले स्वदेश र विदेशमा रहेका काँग्रेसका सदस्य, समर्थक र शुभचिन्तकहरूलाई बदलिएको परिस्थितिमा एकताबद्ध भएर देश र नेपाली नागरिकप्रतिको आफ्नो जिम्मेवारी निर्वाह गर्दै संगठनमा समर्पित हुन अपिल गरेको छ ।