काठमाडौँ । नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) को रेशम चौधरी पक्षलाई समर्थन गर्ने औपचारिक निर्णय गरेको छ ।
सुदूरपश्चिमको कामचलाउ सरकारका मुख्यमन्त्री समेत रहेका काँग्रेस संसदीय दलका नेता कमलबहादुर शाहको अध्यक्षतामा सोमबार बिहान बसेको संसदीय दलको बैठकले नाउपाका मुख्यमन्त्रीका उम्मेदवार लक्ष्मणकिशोर चौधरीलाई समर्थन गर्ने निर्णय गरेको हो ।
काँग्रेसका प्रमुख सचेतक विक्रम धामीले नाउपाका लक्ष्मणकिशोरलाई समर्थन गर्ने निर्णय गरिएको जानकारी दिए । उनका अनुसार काँग्रेसले यसअघि कुनै पनि दललाई समर्थन नगर्ने निर्णय लिएको थियो ।
काँग्रेस–नेकपा एकीकृत समाजवादीको समर्थनमा लक्ष्मणकिशोरले आइतबार मुख्यमन्त्रीमा दाबी पेश गरिसकेका छन् ।
आइतबार नै लक्ष्मणकिशोरलाई साथ दिइसकेको काँग्रेसले सोमबारमात्र उनलाई समर्थन गर्ने औपचारिक निर्णय गरेको हो ।