काठमाडौँ । छठ पर्व नजिकिएसँगै जनकपुरधामसहित तराईका विभिन्न क्षेत्रमा पोखरी, तालतलैया तथा नदी किनारका घाटहरू सिँगार्न थालिएको छ ।
छठ पर्वको मुख्य केन्द्र मानिने जनकपुरधामका विभिन्न पोखरीमा सरसफाइ, सजावट तथा व्यवस्थापनका काम तीव्र पारिएको हो ।
जनकपुरधामस्थित गंगासागर पोखरीमा पनि छठ पूजाको तयारी अन्तिम चरणमा पुगेको छ । गंगासागरको धार्मिक तथा पर्यटकीय महत्वलाई ध्यानमा राख्दै छठ पूजा तयारी समिति र स्थानीय युवाहरू करिब १० दिनदेखि व्यवस्थापनमा जुटेका छन् । गंगासागर धर्मशाला भगवान् शिव मन्दिर सेवा समितिका प्रतिनिधिका अनुसार पोखरी परिसरलाई आकर्षक बनाउन सरसफाइसँगै रङरोगनको काम भइरहेको छ ।
पूर्वज तथा गुठी संस्थानले निर्माण गरेको धर्मशाला भवनको गरिमा बढाउने र पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले परिसरलाई थप सिँगारिएको उहाँले बताए।
त्यस्तै, गंगासागर छठ पूजा समितिले विगत ३३ वर्षदेखि छठ पर्वको व्यवस्थापन गर्दै आएको छ । समितिका अनुसार यस वर्ष पनि भक्तजनको सुविधालाई ध्यानमा राख्दै पाल, पण्डाल, बिजुली बत्ती तथा सांस्कृतिक बाजागाजासहित पूजाको व्यवस्था मिलाइएको छ ।
समितिले यस वर्षको तयारी लगभग पूरा भएको र छठ पर्वलाई भव्य तथा सभ्य रूपमा सम्पन्न गर्न स्वयंसेवकहरू परिचालन गरिने जनाएको छ ।
यसैबीच, समितिका अनुसार यस वर्ष प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि जनकपुरधाममा छठ पूजा गर्न जान सक्ने चर्चा रहेको छ ।
उनीहरूको स्वागतका लागि समितिले गंगासागरस्थित छठ पूजा, सूर्य तथा छठीमाई मन्दिरको अगाडि पूजा गर्ने स्थानको व्यवस्थासमेत गरेको छ ।
समितिले प्रधानमन्त्री शाह र सभापति लामिछानेलाई जनकपुरधाम आएर छठ पूजा गर्न निमन्त्रणा पनि दिएको छ । जनकपुरधामका पोखरी तथा घाटहरूमा छठ पूजाका लागि भइरहेको तयारीले सहरको धार्मिक रौनक बढाएको छ ।
नेपालको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा मनाइने छठमा सूर्यदेव र छठी माताको पूजा गरी परिवारको सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको कामना गर्ने परम्परा छ ।





