काठमाडौँ । रुपन्देही प्रहरीले सार्वजनिक स्थानमा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा थप तीन जनालाई नियन्त्रणमा लिएको छ।
जिल्लाका विभिन्न स्थानमा सञ्चालन भएका देउसी भैलो कार्यक्रममा नेपाली मौलिक कला, संस्कृति तथा सामाजिक शिष्टाचार प्रतिकूल हुने गरी नृत्य प्रदर्शन गरेको आरोपमा तीन युवतीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
प्रहरीले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार उनीहरूलाई सिद्धार्थनगर नगरपालिका-७, कालिकाबजार क्षेत्रबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार सार्वजनिक स्थानमा प्रदर्शन गरिएको नृत्य सामाजिक शिष्टाचार तथा नैतिकताविपरीत रहेको आशंकामा उनीहरूलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको हो।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले उनीहरूमाथि सार्वजनिक हित र नैतिकताविरुद्धको कसुरमा थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।
यसअघि पनि यस्तै आरोपमा व्यक्तिहरू पक्राउ परेको पृष्ठभूमिमा प्रहरीले थप तीन जनालाई नियन्त्रणमा लिएको हो।





