काठमाडौँ । खस-आर्य समुदायले आफूहरूलाई आदिवासीमा सूचीकृत गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
विभिन्न सात वटा समुदायका अगुवाले खस-आर्य समुदायभित्रका ब्राह्मण, खस क्षेत्री, ठकुरी, सन्न्यासी-दशनामी, बाह्रपन्थी र रानाभाट-भाटलाई आदिवासीमा सूचीकृत गर्न भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।
उनीहरूले राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीलगायतलाई ज्ञापन पत्र बुझाएका हुन् ।
संयुक्त खस क्षेत्री समाज, ब्राह्मण समाज, ठकुरी राष्ट्रिय महासंघ, सन्न्यासी-दशनामी समाज, बाह्रपन्थी र रानाभाट तथा भाट समाजले राष्ट्रिय समावेशी आयोगले सरकारलाई बुझाएको थर गोत्र सूचीकरणसम्बन्धी विवरणको सिफारिसको एक प्रतिसमेत बुझाउँदै ध्यानाकर्षण गराएका हुन् ।
साथै खस-आर्यअन्तर्गतका समुदायको थर गोत्रको सूचीकृत गर्न र आदिवासीको सूचीमा समावेश गर्न, खस आर्यको छुट्टै संवैधानिक आयोग गठन गर्न र संघीय निजामती सेवा विधेयक २०८० को दफा ११ को उपदफा दुई (क) र उपदफा ३ (घ) संशोधनको माग गरिएको छ ।
आफूले राखेका माग ३० दिनभित्र सरकारले पूरा नगरे देशको एक तिहाइ जनसङ्ख्या ओगटेको खस-आर्य समुदाय कडा रूपमा संघर्षका कार्यक्रमसहित आन्दोलनका लागि सडकमा उत्रन बाध्य हुने चेतावनी दिइएको छ ।







