काठमाडौँ । नेपाली काँग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले सिंहदरबार र संसद् भवनमा सांसद र नागरिकले लगाउने पोसाकमा समानता नरहेको बताएकी छन् ।
आइतबार प्रतिनिधि सभामा आकस्मिक समय लिएर बोल्दै उनले समानताका लागि सरकारको ध्यानाकर्षण गरेकी हुन् ।न्यौपानेले सबैका लागि समान व्यवस्थाका लागि सभामुख देवराज घिमिरेसँग रुलिङको मागसमेत गरेकी छन् ।
दूरदराजका नागरिकलाई काठमाडौँ आउनै गाह्रो हुने र काठमाडौँ आएको बेला संसद् भवन हेर्न खोज्दा पोसाकका कारणले समेत समस्या हुने गरेको उनको भनाइ छ ।
पोसाककै कारण संसद् भवनमा पुगेर पनि दर्शक दीर्घामा जानबाट रोकिने गरेको उनले बताइन् । किन दर्शक दीर्घामा जानबाट रोकिएको भनेर आफूले प्रश्न गर्दा ‘खुट्टामा चप्पल लगाएका छन् त्यसकारण माथि जान पाउँदैनन्’ भनिएको उनले बताइन् ।
यस्तो जवाफ सुनेर आफू आश्चर्यजनक भएको पनि उनले सुनाइन् । यो सरकारको नियम होला भनेर आफूले मनमा दबाएर राखेको तर, त्यस्ता घटना दोहोरिरहेपछि उठाउनु परेको उनको भनाइ छ ।