काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रमुख जिल्ला अधिकारीहरू कमजोर भएको आफूले देख्न नचाएको भन्दै गलत मान्छेसँग सौदावाजी नगर्न निर्देशन दिएका छन् ।
प्रमुख जिल्ला अधिकारीका रूपमा पदस्थापन तथा सरुवा भई जान लागेका कर्मचारीहरूलाई गृह मन्त्रालयमा निर्देशन दिँदै गृहमन्त्री लामिछानेले १५ दिनको कामको प्राथमिकता निर्धारण गरी आफूलाई जानकारी गराउन निर्देशन दिए । ‘फरक रिजल्ट दिने गरी १५ दिनभित्र प्राथमिकता निर्धारण गरी मलाई पठाउनु होला,’ उनले भने, ‘कार्यकाल र उपस्थिति पहिलो एक हप्ताले देखाउँछ ।’
उनले जिल्लामा गैर कानुनी कामले निरन्तरता पाए फिर्ता गर्ने चेतावनी दिए । ‘मूल्याङ्कन मैले गर्ने हो’ उनले भने, ‘ल एण्ड अर्डर कायम गर्न नहिचकिचाउनुस्, कानुनी उपचारमा जानुस्’
फरक काम गर्न समाज बुझ्नु पर्छ भन्दै आवश्यकता पहिचान गरेर अघि बढ्न गृहमन्त्री लामिछानेको निर्देशन थियो ।
कार्यक्रममा गृह सचिव एकनारायण अर्यालले व्यवस्थित र जनताले अनुभूति गर्ने गरी सेवा प्रवाह गर्न निर्देशन दिए । स्थानीय र प्रदेश सरकारसँग समन्वय गरेर काम गर्न उनको निर्देशन थियो । ‘सयौँ अधिकार प्रयोग गर्ने जिम्मेवारी तपाईँहरूको काँधमा छ,’ गृह सचिव अर्यालले भने, ‘तपाईँहरू जिल्लामा हेडको रूपमा काम गर्ने प्रशासक पनि हो ।’ कार्यालयको काम सँगसँगै जिल्लामा हुने महत्त्वपूर्ण तथा अवाञ्छित गतिविधिहरूमा पनि उत्तिकै सजग रही निगरानी राख्न गृह सचिव अर्यालले निर्देशन दिए ।
६८ बुँदे निर्देशन अनुसार काम गर्न सुझाउँदै उनले प्रशासन कार्यालयलाई हर हिसाबले चुस्त दुरुस्त राख्दै जिल्लामा नमुना कार्यालयको रूपमा काम गर्न भने ।
लागू औषध नियन्त्रण, विपद्जन्य क्षेत्रको भ्रमण, सुरक्षालगायतका विषयमा समेत समन्वय गरेर काम गर्न निर्देशन दिएका गृह सचिव अर्यालले सार्वजनिक सम्पत्ति र प्राकृतिक स्रोत साधनको संरक्षणलाई विशेष प्राथमिकता दिन भने । कर्मचारीको कार्यसम्पादनको रिपोर्ट नियमित गर्नसमेत गृह सचिवले निर्देशन दिएका छन् । साथै राजस्व चुहावट नियन्त्रणमा जोड दिन पनि गृह सचिव अर्यालले भनेका छन् ।