काठमाडौँ । नेपाली काँग्रेसकी सांसद कान्तिका सेजुवालले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’लाई काम गर्न दिनुपर्ने बताएकी छन् ।
बिहीबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले न्यूरोडमा काठमाडौँ महानगरको योजनाअनुसार काम गर्नमा रोकेको बताइन् । यस्तो कार्यले स्थानीय सरकार हतोत्साहित हुने उनको भनाइ छ ।
‘कि स्थानीय तह सरकार सञ्चालन ऐन खारेज गरौँ । स्थानीय तहको जुन संविधानमा परिकल्पना गरिएको छ, त्यो खारेज गरौँ । होइन भने उनीहरूलाई काम गर्न किन नदिने ?’ सेजुवालको प्रश्न छ ।
जेठ २१ गते काठमाडौँको न्यूरोड क्षेत्रको सडकलाई लिएर सडक विभाग र महानगरबीच विवाद भएको थियो । काठमाडौं महानगरपालिकाले फुटपाथ विस्तारका लागि खनेको सडक विभागले पिच गर्न थालेपछि न्यूरोडमा विवाद भएको थियो ।
उनी भन्छिन्, ‘संघीय सरकारको भौतिक मन्त्रालयले बजेट बढी छ भने कर्णालीको सडक जो मृत्युमार्ग बनिरहेका छन्, त्यसमा लगानी गरोस् । होइन भने बालेनलाई, काठमाडौं महानगरपालिकालाई र देशभरका स्थानीय तहलाई काम गर्ने वातावरण दिइयोस् ।’







