काठमाडौँ । प्रेस काउन्सिल नेपालले परराष्ट्र मामिला बिटमा रिपोर्टिङ गरिरहेका सञ्चारकर्मीसँग विषयगत समस्या र आगामी बाटोबारे छलफल गरेको छ ।
छलफलमा काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले निकै संवेदनशील विषयमा बहस र छलफल प्रारम्भ भएको उल्लेख गर्दै मन्त्रालयहरू तथा सरकारका तत् तत् निकायसँग पनि आवश्यकताअनुसार छलफल गर्नुपर्ने बताएका छन् । नेपालको पत्रकारिता धेरै सङ्घर्षमा रहेको उल्लेख गर्दै उनले विदेश मामिलासम्बन्धी रिपोर्टिङले कुनै पनि देशको हितमा ठूलो भूमिका खेल्ने हुँदा काउन्सिलले बिट पत्रकारिताका समस्यालाई सम्बोधन गर्ने प्रयास गरेको उल्लेख गरे ।
काउन्सिल सभाहलमा भएको छलफलमा सहभागीले विदेश मामिला रिपोर्टिङका सन्दर्भमा भएका समस्याबारे अवगत गराएका थिए । सहभागीले विदेशी मामिलासम्बन्धी समाचार सङ्कलन, सम्पादनका लागि सहजताका लागि आवश्यक सञ्चार निर्देशिकाको खाँचो रहेको समेत औँल्याए । प्रेस काउन्सिलले जारी गरेको आचारसंहिताका बुँदामा थप विस्तृत र स्पष्ट उल्लेख हुनुपर्ने तथा अन्य (महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता) सञ्चार निर्देशिका जस्तै विदेश मामिलाका सन्दर्भमा पनि के कस्ता शब्द वाक्यांश प्रयोग गर्ने, राष्ट्रियता जोडिएका विषयमा कसरी रिपोर्टिङ गर्ने भन्ने निर्देशिका जरुरी रहेको उनीहरूले औँल्याए ।
काउन्सिल सदस्य शरद अधिकारीले नेपालको विषयमा अन्तर्राष्ट्रिय समुदायले के चाहन्छ र नेपालको विदेश मामिला रिपोर्टिङ कस्तो छ भन्ने बुझ्न समितिले छलफल कार्यक्रम राखेको बताए । समितिका संयोजक चिरञ्जीवी मास्केले सहभागीको सुझावअनुसार काउन्सिलले आचारसंहिता तथा निर्देशिकाको बारेमा थप छलफल अघि बढाउने बताए ।
पत्रकारहरू कमलदेव भट्टराई, एकराज पाठक, अनिल गिरी, शरच्चन्द्र भण्डारी, कोषराज कोइराला, राधा खनाल, होम कार्की, चाँदनी हमाल, शिक्षा भट्टराई, दिनेश रेग्मी, रुद्र खड्का, धर्मेन्द्र कर्णलगायत सहभागी थिए । यो बिटमा कार्यरत पत्रकारसँग काउन्सिलले पहिलोपल्ट यस्तो कार्यक्रम गरेको हो । प्रेस काउन्सिल नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध उपसमितिको संयोजनमा भएको कार्यक्रममा काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालले सहजीकरण गरेका थिए ।







