काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले काठमाडौँ जिल्ला कमिटीको सातौँ अधिवेशनबाट छनोट हुने नयाँ नेतृत्वका लागि कुनै पनि पदमा आफूले दाबी नगरेको प्रष्ट पारेकी छन् । उनले आइतबार एक विज्ञप्ति जारी गर्दै उम्मेदवारी नरहेको बताएकी हुन् ।
डङ्गोलको विज्ञप्तिमा भनिएको छ, ‘नेकपा एमाले काठमाडौँ जिल्ला कमिटीको सातौँ अधिवेशनको अहिले बन्दसत्र चलिरहेको छ । बन्दसत्र सँगै नयाँ नेतृत्व छनोटको समेत प्रक्रिया चलिरहेका बेला विभिन्न सञ्चार माध्यमहरूले काठमाडौँ जिल्ला कमिटीको नयाँ नेतृत्वका लागि मेरो पनि दाबी रहेको भन्दै समाचार प्रकाश तथा प्रसारण गरेको जानकारी प्राप्त भयो । एउटै व्यक्तिले विभिन्न जिम्मेवारी लिने वा पदीय जिम्मेवारीले थिच्दै जाने हो भने कुशल ढंगले काम गर्न असहज हुने निश्चित नै छ । एक व्यक्ति धेरै पदीय जिम्मेवारी भयो भने विभिन्न जिम्मेवारी लिने योग्य व्यक्तिहरूलाई पनि अवसरका ढोकाहरू बन्द हुने हुँदा धेरै पदीय जिम्मेवारी नलिई अहिले जनप्रतिनिधिको हैसियतले जनताको सेवक भएर काम गर्ने मेरो चाहना छ ।’
डङ्गोलले अहिले आफू काठमाडौँ महानगरपालिकाको उपप्रमुखसँगै पार्टीको केन्द्रीय स्थानीय तह विभाग को सदस्यको समेत जिम्मेवारीमा रहेको पनि स्मरण गराएकी छन् ।







