काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालले विश्वसँग प्रतिस्पर्धा गर्न सक्ने क्षेत्र नै सूचना प्रविधि भएकाले मुलुकको ध्यान यसमै केन्द्रित गर्नुपर्ने बेला आएको बताएकी छन् ।
आर्टिफिसियल इन्टेलिजेन्स (एआई)का विज्ञहरूसँगको छलफलका क्रममा उनले अब सूचना प्रविधि क्षेत्रलाई अत्यधिक परिचालनमा सहयोग पुग्ने गरी नीति, कानुन र कार्ययोजना बनाउनुपर्नेमा जोड दिएकी हुन्। आफूले मन्त्रालय सम्हालेपछि सूचना प्रविधिको विकास र प्रयोगलाई गुणात्मक रूपमा अघि बढाउन नीति र कानुन निर्माणमा जोड दिएको पनि उनले स्पष्ट गरिन् ।
नेपालमा पहिलो पटक राष्ट्रिय साइबर सुरक्षा नीति जारी गर्नेदेखि एआई अवधारणा तयार पार्न चरणसम्म आइपुग्दा सूचना प्रविधिको विकासमा नीतिगत क्षेत्रमा मुलुक धेरै अगाडि बढेको मन्त्री शर्माले जानकारी दिइन् । विश्वव्यापीरुपमा नवीन प्रविधिका रूपमा विकास र प्रयोग हुँदै गएको एआईसम्बन्धी नीति बनाउन अवधारणा पत्र तयार गरिएको जानकारी दिँदै मन्त्री शर्माले अब यसका आधारमा नीति र नीतिका आधारमा कानून बन्ने बाटो खुलेको बताइन्।
तीव्र गतिमा रूपान्तरण हुने प्रविधि क्षेत्रलाई व्यवस्थित गर्ने कानुनलाई समयसापेक्ष बनाउँदै लैजान आवश्यक रहेको उल्लेख गर्दै मन्त्री शर्माले सूचना प्रविधिको विकास, प्रवर्द्धन र नियमन गर्न तथा साइबर सुरक्षा र साइबर स्पेसका डाटा सुरक्षाका प्रावधान समेत समेटी सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक तर्जुमाका लागि मन्त्रिपरिषदबाट सैद्धान्तिक सहमति प्राप्त भई अर्थ मन्त्रालयमा सहमतिका लागि पठाइएको जानकारी दिइन्।