ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिलाई सर्वसाधारणले बुझ्ने गरी अगाडि बढाउनुपर्ने बताएकी छिन् ।
नेपाल दूरसञ्चार प्राधिकरण र त्रिभुवन विश्वविद्यालय इञ्जिनीयरिङ अध्ययनसंस्थानद्वारा संयुक्त रुपमा आज ललितपुरमा आयोजित ‘सेन्टर अफ एक्सिलेन्स फर आइसिटी रिसर्च एण्ड डेभलपमेन्ट’को उद्घाटन गर्दै उनले सूचना प्रविधिको वर्तमान युगमा यसको विकास नेपाली जनताले बुझ्ने र प्रयोग गर्ने भाषामा हुनुपर्छ बताइन् ।
“नेपाल सरकारले आइसिटीको महत्वलाई बुझेर विकासका लागि धेरै काम गरेको छ, यसलाई अभियानका रुपमा विकास गरिनुपर्छ, सर्वसाधारणले बुझ्ने गरी सूचना प्रविधिलाई अगाडि बढाइनुपर्छ, यस वर्षको बजेटमा पनि आर्थिक समृद्धिका पाँच रणनीतिक क्षेत्रभित्र सूचनाप्रविधिलाई समेटिएको छ, १६औँ पञ्चवर्षीय योजनामा समेत आइसिटीलाई समेटिएको छ, बजेटमा कृषि दशक र आइसिटी दशक घोषणा भएको छ । उच्च क्षमताको इन्टरनेट उपलब्ध गराएर युवालाई अनुसन्धानमा सहयोग गर्नुपर्छ”, मन्त्री शर्माले भनिन् ।
चालु आर्थिक वर्षमा सातै प्रदेशमा डिजिटल साक्षरताका कार्यक्रम राखिएको भए पनि सञ्चालन हुन नसकेको उल्लेख गर्दै मन्त्री शर्माले उक्त कार्यक्रम आगामी आर्थिक वर्षमा सञ्चालन हुने विश्वास व्यक्त गरिन्। उनले त्रिभुवन विश्वविद्यालय इञ्जिनीयरिङ अध्ययन संस्थान देश र विदेशमा चिनिएको संस्था भएको उल्लेख गर्दै दूरसञ्चार प्राधिकरणसँगको सहकार्यमा सञ्चालित उक्त कार्यक्रम सफल पार्न संस्थानको भूमिका महत्वपूर्ण हुने बताइन् ।
“विश्वविद्यालयबाट तयार भएका जनशक्ति र उद्योगलाई कसरी जोड्ने भन्ने चुनौती छ, आईसिटीको विकासले विदेशिनुपर्ने बाध्यता हट्ने छ, विश्वभर प्रतिस्पर्धा गर्न सक्छौँ, देशको सूचना प्रविधिको क्षेत्रमा नयाँ आयाम थप्ने माध्यमको रुपमा संस्थान सफल हुनेछ”, मन्त्री शर्माले भनिन् । साइवर सुरक्षाका लागि पुराना कानुनलाई संशोधन गर्ने र नयाँ कानुन निर्माण गर्ने कार्यको सुरुआत भइसकेको उनले जानकारी दिइन् ।