काठमाडौँ । सरकारले नै बजेटमा संशोधन दर्ता गराएको छ । सोमबार राष्ट्रिय सभा बैठकमा नवनियुक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक विधेयक २०८१ को दफा ३६ को उपदफा (६) मा संशोधन प्रस्तुत गरेका हुन् ।
अर्थमन्त्री पौडेलले उक्त उपदफामा रहेको ‘तर’ पछि ‘स्टार्टअप, भेन्चर क्यापिटल, प्राइभेट इक्विटी फन्डमा’ भन्ने शब्द थप गर्ने गरी संशोधन प्रस्ताव राष्ट्रिय सभामा पेस गरेका हुन् ।
यसअघि आर्थिक विधेयकमा ‘तर, साविकका सेयरवाला वा साझेदारको सेयर सङ्ख्या र पुँजी यथावत् रही नयाँ सेयरवाला वा साझेदार थप भई पुँजी वृद्धि भएको अवस्थामा यो उपदफा लागु हुने छैन,’ भन्ने उल्लेख थियो ।
अर्थमन्त्री पौडेलले दर्ता गरेको संशोधन प्रस्ताव राष्ट्रिय सभाबाट स्वीकृत पनि भएको छ । अब आर्थिक विधेयकको दफा ३६ को उपदफा ६ मा ‘तर, स्टार्टअप, भेन्चर क्यापिटल, प्राइभेट इक्विटी फन्डमा साविकका सेयरवाला वा साझेदारको सेयर सङ्ख्या र पुँजी यथावत् रही नयाँ सेयरवाला वा साझेदार थप भई पुँजी वृद्धि भएको अवस्थामा यो उपदफा लागु हुने छैन,’ भन्ने उल्लेख हुनेछ ।
आर्थिक विधेयक प्रतिनिधिसभाले पारित गरिसकेको सन्दर्भमा राष्ट्रिय सभाले गरेको संशोधन सुझावका रूपमा पुनः प्रतिनिधि सभामा जाने छ ।
प्रतिनिधि सभाले यो स्वीकार गरे त्यो आर्थिक विधेयकको अंश बन्ने छ । गरेन भने प्रतिनिधि सभाले पारित गरेकै आर्थिक विधेयक कानून बन्ने छ ।