काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले आइतबार विश्वासको मत लिने भएका छन् । आइतबार बस्ने प्रतिनिधि सभामा ओलीले विश्वासको मत लिने निर्णय भएको सत्तापक्षका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।
‘संविधानतः प्रधानमन्त्री नियुक्ति भइसकेपछि ३० दिनभित्र विश्वासको मत लिने व्यवस्था छ, तर प्रधानमन्त्रीज्यूलाई तुरुन्तै संसद्को विश्वास लिएर काम अघि बढाउन सहजता हुन्छ भनेर हामीले केही दिनभित्रै मत लिने तयारीमा लागेका हौँ,’ बर्तौलाले भने, ‘आइतबार नै विश्वासको मत लिने गरी हामी अघि बढ्छौं ।’
प्रधानमन्त्री नियुक्ति भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। प्रचण्ड नेतृत्वको सरकारलाई विस्थापित गर्दै ओली काँग्रेसको साथमा संविधानको धारा ७६ को उपधारा २ अन्तर्गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका हुन्।