काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारले सेवा प्रवाहमा छिटो छरितो र पारदर्शिता अपनाउन मन्त्रालय मातहतका कर्मचारीलाई लिखित निर्देशन दिएका छन् ।
मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीसहित मन्त्रालयका सह-सचिव, भूमि व्यवस्थापन तथा अभिलेख विभाग, नापी विभाग र सहकारी विभागका महानिर्देशक, सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्र, राष्ट्रिय सहकारी विकास बोर्ड, गुठी संस्थान, समस्याग्रस्त सहकारी व्यवस्थापन समिति र भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रका प्रमुखसहितको ४३ जनाको उच्च नेतृत्वलाई मन्त्री अधिकारीले कार्यान्वयनको समय सीमा नै तोकेर जिम्मेवारी दिएका हुन् ।
मन्त्री अधिकारीले दुई दिवसीय पुर्नताजर्गी कार्यक्रममा भूमि व्यवस्थापन, सहकारी तथा गरिबी निवारणको क्षेत्रमा विद्यमान अवस्था र सुधारका लागि कार्ययोजनासहित छुट्टाछुट्टै प्रस्तुतीकरण र छलफलपछि मन्त्री अधिकारीले यस्तो जिम्मेवारी दिएका हुन् ।
मन्त्री अधिकारीसमक्ष मन्त्रालयका मातहतका उच्च पदाधिकारी, विभागीय प्रमुख तथा महानिर्देशकहरूले आगामी दिनमा प्राप्त निर्देशन पूर्णरुपमा कार्यान्वयन गर्ने प्रतिबद्धतासमेत जनाएका छन् ।







