काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कामको जिम्मेवार आफै हुने गरी कानून बमोजिम काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।
मंगलबार (आज) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारमा उपप्रधानमन्त्री, मन्त्री तथा सचिवहरूलाई सामूहिक निर्देशन दिँदै ओलीले कानुन बमोजिम काम गर्न कर्मचारीलाई निर्देशन दिएका हुन् ।
उनले सेवा लिन आउने नागरिकलाई नरम भएर सेवा दिन सचिवहरूलाई निर्देशन दिए । जेष्ठ नागरिक, अपाङ्गता भएका नागरिकलाई लाइनमा राख्नै नहुने भन्दै अरु सेवाग्राहीलाई पनि लाइनमा किन राख्न पर्यो ? उनले प्रश्न गरे । कतिपय कर्मचारीले सेवा प्रवाह गर्दा रवैया देखाउने गरेको भन्दै त्यस्ता कर्मचारीको कारणले सरकार बदनामित हुने गरेको ओलीले बताए ।

उनले कर्मचारीलाई सेवा प्रवाह गर्दा आफ्नो बानी सुर्धानसमेत आग्रह गरे । कर्मचारीलाई कानुन बमोजिम कार्य सम्पादन गर्न निर्देशन दिँदै ओलीले देश र जनताको पक्षमा काम गर्न समेत भने । यस्तै उनले आफूले लिएको जिम्मेवारी पन्छ्याउने गरी काम नगर्न कर्मचारीलाई निर्देशन दिए । उनले जनतालाई सेवा दिने ठाउँमा ढिलासुस्ती गर्नै नहुने बताए ।
अझै पनि सेवाग्राहीलाई लाइनमा लगाउनुपर्ने अवस्था रहेको बताउँदै प्रम ओलीले यस्तो अवस्थालाई छिट्टै अन्त्य गर्न आग्रह गरे ।








