काठमाडौँ । गृह मन्त्री रमेश लेखकले सरकारले विपद् प्रभावित घर परिवारका लागि तयार गरेको अस्थायी आवास अनुदान मापदण्ड, २०८१ स्वीकृत हुने चरणमा रहेको बताएका छन् ।
उनले सो मापदण्ड बिहीबारै बस्ने मन्त्रिपरिषद्को बैठकमा पेस हुने जानकारी दिए । बिहीबारको राष्ट्रिय सभा बैठकमा गृह मन्त्री लेखकले सबै खालका विपद्बाट घर, क्षतिग्रस्त भइ बस्न नमिल्ने भएका विपद् प्रभावित व्यक्तिहरुका लागि र विपद् प्रभावित घर परिवारका लागि अस्थायी आवास अनुदान मापदण्ड, २०८१ तयार गरी सबै प्रक्रिया पूरा भइसकेको र अब मन्त्रिपरिषद्बाट पारित भएपछि कार्यान्नवयनमा आउने बताए ।
उनले जाजरकोट र बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्पबाट पहिचान भएका ८५ हजार ६९० लाभग्राहीमध्ये ९ हजार ५८४ लाभग्राहीका लागि जिल्ला विपद् व्यवस्थापन समितिमार्फत् २३ करोड ९६ लाख रुपैयाँ निकासा भएकोमध्ये बझाङका १२ सय ५५ जना लाभग्राहीले ३ करोड १३ लाख ७५ हजार रुपैयाँ दोस्रो किस्ता समेत बुझिसकेको जानकारी गराए ।
उनले अन्य जिल्लामा दोस्रो किस्ता बापतको रकम वितरण भएको प्रतिवेदन प्राधिकरणमा आउने क्रममा रहेको बताए । अस्थायी आवास निर्माणका लागि करिव ९० करोड ९४ लाख ७५ हजार रुपैयाँ जाजरकोट, रुकुमपश्चिम, सल्यान, बझाङ र बाजुरा जिल्ला तथा स्थानीय विपद् व्यवस्थापन समितिको कोषहरुमा मौज्दात रहेको उनले बताए ।
जिल्ला विपद् व्यवस्थापन समितिबाट २ अर्ब २५ करोड ५ लाख २५ हजार रुपैयाँ स्थानीय विपद् व्यवस्थापन समितिको कोषमा निकासा भएको र स्थानीय विपद् व्यवस्थापन समितिबाट प्रक्रिया पूरा गरेका ७७ हजार ३३ लाभग्राहीका लागि पहिलो किस्ता बापत १ अर्ब ९२ करोड, ५८ लाख २५ हजार रुपैयाँ लाभग्राहीको खातामा निकासा भइसकेको उनले बताए ।