काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपमहासचिव जनार्दन शर्मासँगको बहसले पार्टीलाई एकताबद्ध बनाएर लैजाने विश्वास व्यक्त गरेका छन् ।
नेकपा माओवादी केन्द्र काठमाडौँ-रुकुम पश्चिम सम्पर्क समितिको दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै उनले खुला छलफलले आफूहरुबीच देखिएको आशंका मेटिने बताए ।
उनले भने, ‘कमरेड प्रभाकरले केही कुरा राख्नुभयो । कमरेड प्रभाकरसँग मेरो भेट भएदेखि नै अटुट रुपमा सँगै काम गर्दै आइरहेका छन्, तर उहाँले भनेको जस्तो उहाँको स्वभाव र मेरो के हो भन्ने कुरा त सिंगो देशले बुझेको कुरा छ । त्यो स्वभावको कारणले हामी बेलाबेलामा अगुल्टो ठोसिए झैँ ठोसिने चाहिँ गरेकै छौँ । अहिले मात्रै होइन, जनयुद्ध कालमा पनि, पछि पनि र अहिले पनि, तर यो अगुल्टो ठोसिए जस्तो ठोसिनु आगो बाल्न, खाना पठाउन र राम्रोको लागि हुँदै आएको छ । म विश्वास गर्छु यो पटक अझ राम्रो हुनेछ ।’
‘प्रचण्ड’ले अहिले भएको विवाद र बहसले पार्टीलाई एकताबद्ध बनाउने विश्वास व्यक्त गरे । प्रभाकरले पार्टी फुटाउँदैछ भनेर आफूले नसोचेपछि भ्रमको कारणले आशंका पैदा गरेको ‘प्रचण्ड’ले बताए ।
उनले स्थायी कमिटीको बैठकपछि पार्टी फुट्दैछ भन्ने मान्यतालाई खारेज गरेको जिकिर गरे । शर्माले उठाएको विषयलाई केन्द्रीय कमिटीको दस्ताबेजमा समेटेर लैजाने उनले सुनाए ।
‘प्रचण्ड’ले थपे, ‘केही गम्भीर आशंकाका कुराहरू छन् अझै पनि । त्यस्तो कुरामा मैले र प्रभाकरले अध्ययन अनुसन्धान गर्ने, यस्तो आशंकाको स्थिति कसरी बन्यो भन्नेबारेमा सँगै बसेर अनुसन्धान गर्ने, नभए केन्द्रबाट टिम बनाएर पनि अध्ययन गर्ने, अहिले भ्रमको कुराहरू चिरिएका छन् । त्यसैले कमरेड प्रभावकरले पनि ममाथि अत्याचारका अत्याचार भनिराख्न जरुरी छैन । तपाईँले बहस गरेर राम्रो भयो । तपाईँले भनेको कुरा मूल नेतृत्वले नकारात्मक ढंगले लिएको भए बैठकले तपाईँले उठाएको विषय पार्टीले स्विकार्दैनथ्यो । यो कुरालाई तपाईँले गहिरोसँग आत्मसात् गर्नुपर्छ ।’
उनले पार्टी फुट्दैछ भन्ने कुरालाई खारेज गरेर आफ्नो सचिवालयबाट भ्रमको धेरै चर्चा भएको भन्ने विषयमा पनि अध्ययन गर्ने बताए ।