काठमाडौँ । मुख्यसचिव एकनारायण अर्यालले संघीय निजामती विधेयकलाई छिटोभन्दा छिटो पारित गर्नुपर्नेमा जोड दिएका छन् ।
बिहीबार बसेको प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफलका क्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
संविधान जारी भएको साढे ८ वर्ष भइसक्दा पनि संघीय निजामती विधेयक आउन नसक्दा कर्मचारी प्रशासनमा धेरै नै समस्याहरू भएको भन्दै कर्मचारी प्रशासनलाई चुस्त दुरुस्त पार्नका लागि विधेयक अत्यावश्यक भएको उनले बताए । अर्यालले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० लाई छिटो पारित गरिदिन आग्रह समेत गरेका छन्।
अघिल्लो प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले निजामती विधेयकमा अधिकांश विषयमा सहमति जुटाएकाले पनि अब अगाडि बढाउन सहज हुने उनको भनाइ छ । निजामती विधेयक सरकारलाई अत्यावश्यक परेको र विधायिकाले पनि छिटो गर्नुपर्ने अनुभव गरेको आफूलाई लागेको अर्यालले बताए ।