काठमाडौँ । नेकपा माओवादी केन्द्रले आज काठमाडौँमा खबरदारी सभा गर्दैछ । सरकारका गलत कदमको विरोध र गर्नुपर्ने कामका लागि ध्यानाकर्षण गराउन खबरदारी सभा गर्न लागेको हो ।
माओवादीले विपत् व्यवस्थापनमा देखिएको सरकारको असंवेदनशीलता, गैरजिम्मेवारीपन र योजनाविहीनताका कारण बेपत्ताहरूको खोजी, राहत वितरण, घाइतेहरूको उपचार, अस्थायी आवास निर्माणलगायत पुनर्निर्माण र पुनर्स्थापनाको क्षेत्रमा देखिएका समस्या समाधान गर्न, आफ्नो पार्टी नेतृत्वको सरकारले सुरु गरेको सुशासनको अभियानलाई कमजोर बनाउन भइरहेका षड्यन्त्र र भ्रष्टाचारजन्य गतिविधिलाई निष्तेज पार्न खबरदारी सभा गर्ने भएको हो ।
सामाजिक न्यायका मुद्दाप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउन, सुशासन, सामाजिक न्याय र आर्थिक विकास तथा समृद्धिको पक्षमा अभिमत प्रकट गर्न, नेपाल विद्युत् प्राधिकरणलगायत सार्वजनिक संस्थाहरू, विश्वविद्यालयसहित शिक्षण संस्था र कर्मचारीतन्त्रमा गरिएको चरण राजनीतिकरण र हस्तक्षेपको प्रतिवाद गर्न र कालाबजारी नियन्त्रणका लागि पहल गर्न खबरदारी गरिने माओवादीले जनाएको छ ।
सरकारविरुद्धको खबरदारी सभा भृकुटीमण्डपमा हुनेछ । त्यसअघि काठमाडौँ मलबाट जुलुस निकालिने छ । ११ बजेपछि काठमाडौँ मलबाट सुरु भएको जुलुसको नेतृत्व अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्दैछन् ।
प्रदर्शन र सभा रचनात्मक र शान्तिपूर्ण हुने माओवादीले जनाएको छ । यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा सरकार गठन भएको १०० दिनमा प्रतिपक्ष दलहरूले ध्यानाकर्षण गराएका थिए ।
खबरदारी सभामा उपत्यका भित्रबाट मात्र नेता कार्यकर्ता सहभागी हुनेछन्। सभामा करिब २५ देखि ३० हजारसम्म सहभागी हुने आकलन माओवादीको छ।