काठमाडौँ । वैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगलमा रहेका एक नेपाली युवा बेपत्ता भएका छन् ।
पोल्यान्ड हुँदै दुई वर्ष अघि पोर्चुगल पुगेका कैलालीस्थित धनगढी उपमहानगरपालिका-१२ का २८ वर्षीय सुरेशकुमार ओझा चार महिनादेखि बेपत्ता भएका हुन् । ओझा गत जुलाई ५ तारिखदेखि सम्पर्कविहीन भई बेपत्ता भएको सुदूरपश्चिमेली नेपाली समाज पोर्चुगलले जनाएको छ ।
राजधानी लिस्बनस्थित एक रेष्टुराँमा काम गर्दै आएका उनी सात महिनाअघि एकाएक बेवारिसे भएका थिए । बेवारिसे भएका ओझालाई मेट्रो स्टेसनबाट नाजुक अवस्थामा उद्धार गरी लिस्बनस्थित एक होस्टेलमा खाने बस्ने व्यवस्था मिलाएर राखिएको भए पनि होस्टेलबाटै भागेर बेपत्ता भएको बताइएको छ ।
समाजको पहल र व्यवस्थापनमा होस्टेलमा बस्दै आएका उनी गत जुलाईदेखि सम्पर्कविहीन भएका हुन् । हाल उनको खोजीकार्य भइरहेको र पोर्चुगलमा क्रियाशील नेपाली संघ–संस्थालाई समेत उनको खोजबिनमा सहयोग गर्न आग्रह गरिएको छ ।
बेपत्ता भएका ओझा हालसम्म परिवार, आफन्तलगायत कोही कसैको सम्पर्कमा नआएको भन्दै उनको खोजी गरी नेपाल पठाइदिन परिवारको आग्रह छ ।