काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विद्यालय तहमा जलवायु शिक्षा अनिवार्य रूपमा समावेश गर्न राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनको प्रक्रिया अघि बढाइएको बताएका छन् ।
सुरक्षित विद्यालय पूर्वाधार निर्माणका लागि देशभरका करिब २७ हजार सामुदायिक विद्यालयको अवस्था र विपद् जोखिमबारे अध्ययन भइरहेको पनि उनले जानकारी दिएका छन् ।
तुर्किएको अन्ताल्यामा आयोजित संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप-३१) अन्तर्गत हरित शिक्षासम्बन्धी उच्चस्तरीय मन्त्रीस्तरीय छलफलमा पोखरेलले नेपालले पाठ्यक्रम परिमार्जन र विद्यालय पूर्वाधार सुधारलाई सँगसँगै अघि बढाएको बताएका हुन् ।
शिक्षामन्त्रीको सचिवालयका अनुसार पोखरेलले हिमाली क्षेत्रमा हिमताल विस्फोट, पहाडमा पहिरो तथा तराईमा बाढी र अत्यधिक गर्मीका कारण पठनपाठन अवरुद्ध हुने गरेको बताए । विपद् जोखिमको मूल्यांकन नगरी बनाइएका विद्यालयका भवन पनि जोखिममा रहेको उल्लेख गर्दै उनले पूर्वाधार निर्माणअघि जोखिमको अध्ययन गर्नुपर्नेमा जोड दिए ।
काठमाडौँ महानगरपालिकाका ९० विद्यालयमा गरिएको परीक्षणबाट प्राप्त सिकाइका आधारमा सामुदायिक विद्यालयको अध्ययन देशभर विस्तार गरिएको पोखरेलले बताए । अध्ययनमा विद्यालयका भौतिक संरचना, विपद् जोखिम र विद्यालय परिसरमा कम्तीमा ६० प्रतिशत खुला क्षेत्र रहे-नरहेको हेरिँदै छ ।
अध्ययनको नतिजाका आधारमा सुरक्षित विद्यालय निर्माण र त्यसका लागि उपलब्ध स्रोतसाधनको व्यवस्थापन गर्न गुरुयोजना तयार गरिने मन्त्री पोखरेलले बताए । उनले जलवायु परिवर्तनको दीर्घकालीन असर सामना गर्न शिक्षा र विज्ञानका क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्य बढाउनुपर्नेमा पनि जोड दिए ।





