काठमाडौँ। सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बयानका लागि आज कास्कीबाट रुपन्देहीको बुटवल लगिँदै छ ।
बुटवलको सुप्रिम सहकारी प्रकरणमा जिल्ला अदालत रुपन्देहीबाट पक्राउ पुर्जी जारी भएपछि बयानका लागि रविलाई रुपन्देही लग्न लागिएको हो ।
उनलाई बिहान ५ बजे नै पोखरा विमानस्थल पुर्याइएको थियो । बुद्ध एयरको जहाजमार्फत ७ बजे भैरहवा प्रस्थान गर्ने भनिएपनि भैरहवाको मौसमका कारण ढिलाइ भएको छ ।
भैरहवा विमानस्थलको भिजिबिलिटी कम हुँदा उडान हुन सकेको छैन ।
लामिछानेको आज नै बयान सकेर कास्की फर्काउने प्रहरीको तयारी छ । प्रहरीले बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको कसुरमा अनुसन्धान गर्न लामिछाने र जीवी राईसहित १२ जनालाई पक्राउ गर्न रुपन्देही जिल्ला अदालतबाट यसअघि नै अनुमति लिएको थियो ।
बुटवलस्थित सुप्रिम सहकारीबाट एक करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।







