काठमाडौँ। सहकारी ठगी प्रकरणमा पक्राउ परेका जीवी राईसहित १९ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय कास्कीले शुक्रबार पोखराको सूर्य दर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका र पक्राउ पुर्जी जारी भएका गितेन्द्रबाबु राई (जीवी) सहित १९ जनालाई पहिलो चरणमा मुद्दा दर्ता गरेको हो ।
अहिले प्रहरी हिरासतमा रहेका रवि, छविसहित जीविका साझेदार नेचर हर्बस्का सञ्चालक रामबहादुर खनाल, लीला पछाइ र सूर्य दर्शन सहकारीका सञ्चालक कृष्ण गुरुङको मुद्दा भने आइतबार दर्ता हुने जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ ।
बचतकर्ताले दिएको उजुरीका आधारमा प्रहरीले गत साल २४ भदौमा पक्राउ पुर्जी जारी गरेको थियो । सूर्य दर्शन सहकारीका उपाध्यक्ष कैलाश दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, पूर्व सञ्चालक शिवबहादुर गुरुङ (महेन्द्र भोटे), प्रमोद भट्टराई, अनुज नकर्मी, भविश्वर अर्याललगायत पुर्पक्षका लागि थुनामै छन् ।
सुरुमा पक्राउ पुर्जी भएका १९ जनामध्ये सहकारीका पूर्वअध्यक्ष जीवी राई, उनकै दाइ भूपेन्द्र, अहिलेका अध्यक्ष तथा व्यवस्थापकसमेत रहेका थानबहादुर बुढा, धीरजकुमार दास, हेमन्त अधिकारी, प्रमोद भट्टराई, सुरज श्रेष्ठ, आइस्मा गुरुङ, कविता तामाङ, सागर केसी, दिनेश रोका, ललिता तामाङ फरार छन् । सृष्टि मानन्धर, ऋण अधिकृत बुद्धि गुरुङ पनि फरार छन् ।
प्रहरीले शूर्यदर्शन सहकारीका बचतकर्ताको रकम हिनामिनाका विषयमा लामो अनुसन्धानपछि १६ असोजमा सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो भने सरकारी वकिलको कार्यालयले असोज १९ गते जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो । तर, फेरि जाहेरी परेकाले अभियोजन पेश गर्न लागिएको जनाइएको छ।







