काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले आफू राजनीतिक दलहरूको सहमतिका आधारमा जिम्मेवारीमा बसेको बताएका छन् ।
सोमबार समितिको बैठकमा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले लेखा समितिको सभापति प्रतिपक्षी दलको हुनुपर्ने बताएका थिए । जवाफमा सभापति पोखरेलले आफू दलीय सहमतिबाट नेतृत्वमा रहेकाले दलीय सहमति बिना जिम्मेवारीबाट पन्छिन नमिल्ने बताएका हुन् ।
माओवादी सांसद मोदीले जो सरकारकै नेतृत्वमा रहेको दलबाट लेखा समितिको नेतृत्व हुन नहुने बताएका थिए ।
सांसद मोदीले भनेका थिए, ‘प्रश्न उठिरहेको छ, सरकारको छायामा लेखा समितिमा पर्यो कि भनेर । यसकारण यहाँले मार्गप्रशस्त गरेको राम्रो हुन्छ । लेखा समितिको नेतृत्व प्रतिपक्षलाई दिनुपर्ने भएकाले पनि मार्ग प्रशस्त गरेको राम्रो हो ।’
जवाफमा सभापति पोखरेलले आफूहरू दलीय व्यवस्थामा रहेको बताएका हुन् ।
‘हामी सबै दलीय सांसद हौँ, निर्दलीय सांसद होइनौँ । दलका सांसद भइसकेपछि दलको निर्णय, दलहरूको सहमतिलाई मान्ने हो,’ सभापति पोखरेलले भने । फेरि पनि दलहरूको निर्णय भए त्यसअनुसार अगाडि बढ्न आफू तयार रहेको सभापति पोखरेलले बताए ।
‘तपाईँ हामी सबै दलका प्रतिनिधि हौँ । दलहरूले जे निर्णय गर्छन्, जे सहमति बनाउँछन् हामी त्यसैभित्र बाँधिएका हुन्छौँ । म पनि त्यसैभित्र पर्छु । म यही आग्रह गर्न चाहन्छु,’ सभापति पोखरेलले भने ।