काठमाडौँ । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा पिएल सिंहको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् ।
शनिबार सिंहको १३ औँ दिनको पुण्य तिथिमा नेपाली काँग्रेस काठमाडौँ जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले पिएल सिंहले ०४२ सालको सत्याग्रह र ०४६ सालको जन आन्दोलनमा पुर्याएको योगदानको स्मरण गरे। । काँग्रेस पूर्वमहामन्त्रीसमेत रहिसकेका सिंहले पिएल सिंहले प्रजातान्त्रिक आन्दोलनसँगै असहज बेलामा आफ्नो परिवारको समेत ख्याल गरेको बताए ।
‘०४२ सालको सत्याग्रह र ०४६ सालको जनआन्दोलनका बेलामा उहाँले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । सिद्धान्त र आदर्शको राजनीति गर्ने परिवारमा कष्टको त साध्य नहुने । त्यस्तो समयमा उहाँले हाम्रो अभिभावक बन्नुभयो,झ उपप्रधानमन्त्री सिंहले पिएल सम्झँदै भन्नुभयो, उहाँ सरल र सहज स्वभावको, सबैले स्वीकार गर्ने र सबैसँग भिज्न सक्ने । भारतका तत्कालीन प्रधानमन्त्री चन्द्रशेखर र पिबि नरसिंह रावसमेत उहाँसँग प्रभावित हुनुले उहाँको क्षमता बुझ्न सकिन्छ ।’ उनले भने। पिएल सिंह आफूलाई प्राप्त भूमिकालाई गम्भीरताका साथ निभाउने नेता भएको पनि उनले बताए ।
त्यस्तै काठमाडौँ नगरपालिकाको मेयर निर्वाचित भएपछि पिएलले आफ्ना कार्यकालमा काठमाडौँलाई महानगर बनाएको र काठमाडौँको विकासका लागि अन्तर्राष्ट्रिय सहयोग जुटाएर आधुनिक काठमाडौँ बनाउन नेतृत्वदायी भूमिका खेलेको सन्दर्भ पनि सिंहले चर्चा गरे ।
काँग्रेस काठमाडौँ सभापति सबुज बानियाँको सभापतित्वमा भएको कार्यक्रममा काँग्रेस सभापति शेरबहादुर देउवा, पूर्वममहामन्त्री कृष्ण सिटौला,स्वास्थ्यमन्त्री प्रदीप पौडेल, काँग्रेस नेता भीमसेनदास प्रधान, राजन केसीलगायत काठमाडौँ जिल्ला समिति,महानगर समितिका सभापति निलकाजी शाक्य, नेतृ सिर्जना सिंह, काँग्रेस काठमाडौँ जिल्ला समिति, महानगर समितिका पदाधिकारी, सदस्य तथा भातृ संघसंस्थाका नेता कार्यकर्ता सहभागी थिए ।