काठमाडौँ । नुवाकोटका किसानहरूले पर्याप्त मात्रामा रासायनिक मल नपुगेको गुनासो गरेका छन्। कृषि तथा पशुपक्षी विकाश मन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै उनीहरूले रासायनिक मलको कोटा वृद्धि गर्न माग गरेका हुन्।
१२ स्थानीय तह रहेको पहाडी संरचनाको नुवाकोटमा रासायनिक मलको कोटा वृद्धि गर्न कृषिमन्त्री रामनाथ अधिकारीलाई किसानहरूले ज्ञापन पत्र बुझाएका हुन्। कृषि तथा पशुपन्छी विकास मन्त्रालय पुगेर मन्त्री अधिकारीलाई संविधान सभा सदस्य जगदिश्वरनरसिंह केसीसहित बेलकोटगढी नगरपालिकाका जनप्रतिनिधिलगायतको टोलीले ध्यानाकर्षण गराएको हो।
नुवाकोटमा कृषि मल अभाव भई उत्पादनमा ह्रास आउने स्थितिको सिर्जना भएको हुँदा उक्त समस्या निराकरण गर्न थप कोटा वृद्धि गर्दै उत्पादन उन्मुख बालीको संरक्षण गर्नुपर्ने जनाउँदै कृषि मन्त्रीलाई ध्यानाकर्षण गराएका हुन्।
नुवाकोटको उत्पादन वृद्धिले राजधानीको मागलाई समेत धान्ने हुँदा समयमा आवश्यक मलखादको उचित प्रबन्ध गर्न माग गरिएको बेलकोटगढी नगरपालिकाका उपमेयर शिवप्रसाद दाहालले बताएका छन्। यसअघि निर्धारित रासायनिक मलको कोटा अव्यवहारिक भएकाले त्यसमा पुनर्विचार गर्न समेत माग गरिएको उपमेयर दाहालको भनाई छ ।