काठमाडौँ । नेपाल डेरी एसोसिएसनले सातै प्रदेशमा कोल्ड स्टोर स्थापना गर्ने र पाउडर प्लान्ट नभएका प्रदेशमा प्लान्ट स्थापना गर्न पहल गर्ने भएको छ । बुटवलमा सम्पन्न एसोसिएसनको २६औँ वार्षिक साधारण सभाले यस्तो निर्णय गरेको हो ।
कार्यक्रममा लुम्बिनी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले कृषि तथा दुग्ध क्षेत्रलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले काम गरिरहेको बताए ।
मुलुकको आर्थिक समृद्धिका लागि दुग्ध क्षेत्रको योगदान महत्त्वपूर्ण रहेको रहेको उनको भनाइ छ ।
नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले एसोसिएसनले देशभरका उद्योगीलाई समेटेर दुग्ध क्षेत्रको विकासमा निरन्तर काम गरिरहेको बताए ।
स्थानीय तह, प्रदेश र केन्द्र सरकारसँग आवश्यक सहकार्य गर्दै एसोसिएसनले विविध गतिविधिहरू गरिरहेको उनको भनाइ छ । राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्रप्रसाद यादवले गुणस्तरीय दूध उपभोक्तालाई दिनुपर्नेमा जोड दिए ।
पशु सेवा विभागका उपमहानिर्देशक डा. लेखराज दाहालले पशुपालन तथा दुग्ध क्षेत्र सरकारको प्राथमिकतामा रहेको बताउँदै डेरी उत्पादनहरूको विविधीकरण गरी निर्यातमा जानुपर्ने सुझाव दिए ।
एसोसिएसनका देशभरका २०० भन्दा बढी सदस्यको उपस्थिति रहेको साधारण सभामा डेरी क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउने विभिन्न उद्योग तथा व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।
साधारण सभाले ‘नेपाल डेरी एसोसियसन युवा मञ्च’ गठन गर्ने निर्णय गरेको छ ।