काठमाडौँ। नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले अध्यादेशबाट देश चलाउने कुरा निरंकुशताको प्रस्थान विन्दु भएको टिप्पणी गरेका छन् । सोमबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
नेपाली काँग्रेसको संस्कार अध्यादेशबाट देश चलाउने नभएको भन्दै उनले लोकतन्त्रमा सकेसम्म संसद्बाट नै ऐन, कानुन बनाउनुपर्ने जिकिर गरे ।
‘अध्यादेशबाट देश चल्ने भनेको निरंकुशताको प्रस्थान विन्दु हो । हुनतः नेपाली काँग्रेस र एमालेको सरकार बन्नुपर्छ भनेर भन्ने पहिलो व्यक्ति म नै हो । ओलीजीसँग दुई चार राउण्ड कुरा गरिसकेको थिएँ, त्यसपछि भनेको हो,’ उनले भने ।
दुई तिहाइको सरकारलाई अध्यादेशको जरुरी नरहेको बताउँदै उनले गलतलाई गलत भन्न नसक्ने हो भने काँग्रेसको औचित्य सकिने बताएका छन् ।
‘अहिले के भइरहेको छ भने अध्यादेशबाट देश चलाउने कल्चर नै होइन, नेपाली काँग्रेसको । डेमोक्रेसीमा भरसक हामीले संसद्बाटै नियम, कानुन, ऐनहरू बनाइकन अगाडि जानुपर्ने हुन्छ । हामीले संसद्लाई छलेर जान खोज्यौँ भने काम लाग्दैन । दुई तिहाइ बहुमत छ, छल्नुपर्ने जरुरत नै छैन,’ उनले भने ।