काठमाडौँ । नेपाल र म्यानमार एक खेल खेल्नुअगावै अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा नेपालले लेबनानमाथि १-० को जित निकालेपछि दुवै टोलीले फाइनलमा स्थान पक्का गरेका हुन् ।
नेपालको जितमा पहिलो हाफमा गरेको एक मात्र गोल नै निर्णायक बन्यो । ४२औँ मिनेटमा सावित्रा भण्डारीको प्रहार लेबनानी खेलाडी फराहलाई डिफ्लेक्ट भएर गोल भएको थियो । यीबाहेक दुवै टोलीले गोल गर्ने थुप्रै अवसरहरू सदुपयोग गर्न सकेनन् ।
१०औँ मिनेटमा क्रिस्टी मालोफको प्रहार एन्जिलाले बचाइन् । ११औँ मिनेटमा बिमलाले गरेको प्रहार पोस्टमाथिबाट बाहिरियो । १३औँ मिनेटमा लैला इस्कन्दरले दुई पटक गोलरक्षक बिट गरिसकेको अवस्थामा गोल गर्न चुकिन् । १५औँ मिनेटमा प्रीति राईको प्रहार पोस्टको केही माथिबाट बाहिरियो ।
१७औँ मिनेटमा रेखा पौडेलले सबिता रानामगरको क्रसमा हेडर मिस गरेकी थिइन् । २३औँ मिनेटमा साम्बाको प्रहार पोस्टको वाइड गयो । २६औँ मिनेटमा बिमला चौधरीको हेडर फितलो रहँदा लगत्तै ओपन चान्समा रेखाले बल भेटाउन सकिनन् । त्यसलगत्तै फेरि साम्बाको प्रहारले पोस्टको दिशा लिन सकेन ।
समूह चरणको अन्तिम खेलमा पनि नेपाल र म्यानमार नै खेल्ने छन् भने फाइनल पनि यिनै दुई टोलीको बिचमा हुनेछ ।
३१औँ मिनेटमा लेबनानले पनि अर्को मौका गुमायो । थ्रु मार्फत आएको उत्कृष्ट पासलाई लेला इस्कन्दरले सदुपयोग गर्न सकिनन् । ३७औँ मिनेटमा क्रिस्टी मालुफको प्रहार साइड नेटिङ हुन पुग्यो ।
दोस्रो हाफको ५९औँ मिनेटमा साम्बाको पासमा सबिताले प्रहार गरेको बल पोस्टमाथिबाट बाहिरियो । ८६औँ मिनेटमा सावित्राको प्रहारले पोस्टको दिशा लिन सकेन ।
इन्जुरी समयको पहिलो मिनेटमा जहवा अराबीको प्रहार बारमा लागेर फर्कँदा लेबनान बराबरी गर्नबाट चुकेको थियो ।
समूह चरणको अन्तिम खेलमा पनि नेपाल र म्यानमार नै खेल्ने छन् भने फाइनल पनि यिनै दुई टोलीको बिचमा हुनेछ ।