काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सरकारविरुद्धको खबरदारी सभा प्रभावकारी भएको निष्कर्ष निकालेको छ ।
पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता अग्निप्रसाद सापकोटाले पार्टी निर्माणमा खबरदारी सभा र पालिका सम्मेलन निकै प्रभावकारी भएको बताए ।
उनले भने, ‘हामीले देशैभरी सबै स्थानीय तहमा खबरदारी सभा र पालिका सम्मेलन गर्ने अभियान चलाएका थियौँ। ७० प्रतिशत पालिका सम्मेलन भएका छन्, खबरदारी सभा पनि सबैमा भइसकेका छन् । सबैभन्दा बढी त पार्टी अध्यक्ष नै खटिनुभएको छ। हामी सबै पनि लागेका छौँ ।’
जनताको सम्बन्ध कमजोर भएको कारणले अहिले पार्टी पुनर्निर्माणको लागि जनतामा फर्किएको बताए ।
उनले जनतासँगै जोडिएर उत्पादनमा पनि लाग्नुपर्ने निष्कर्ष सुनाए । उनले आत्म समीक्षासहित जनताको बीचमा जाँदा आफूहरूले पहिलेकै जस्तो वातावरण पाएको सुनाए ।
उनले भोलि पार्टीबाट निर्वाचित प्रमुख र उपप्रमुखहरूलाई अभिमुखीकरण कार्यक्रम गर्न लागेको बताए । आफूले जितेको १२३ पालिकाबाट समाजवादको यात्रा तय गर्नको लागि अभिमुखीकरण राखेको बताए ।