विराटनगर । नेपाली काँग्रेसका नेता एनपी साउदले पार्टीको जिम्मेवारीमा रहेका नेताहरूले आफ्नो दायित्व पूरा नगरी थप जिम्मेवारीका लागि पछि लाग्न नहुने बताएका छन्।
शनिबार मोरङको विराटनगरमा आयोजित नेपाल भूतपूर्व सैनिक संघको कोशी प्रदेश कार्यसमितिको पहिलो अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले पार्टीका भ्रातृ संगठनहरूको अधिवेशन गराई तिनलाई गतिशील बनाउनु पार्टी नेतृत्वको कर्तव्य भएको उल्लेख गरे। साथै, उनले नेताहरूले जिम्मेवारीबाट पन्छिएर केवल पदको लडाइँमा केन्द्रित हुनु अनुचित भएको बताए।
“पार्टीका भ्रातृ संगठनहरूको अधिवेशन गर्ने, तिनलाई गतिशील बनाउने जिम्मेवारी नेतृत्वमा रहेकाहरूको हो,” साउदले भने, “तर, कर्तव्यबाट भागेर पार्टीलाई केवल पदको लडाइँमा लैजानु गलत हुन्छ।”
पूर्वपरराष्ट्रमन्त्री साउदले नेपाली कांग्रेसलाई बलियो पार्टीका रूपमा अगाडि बढाउन गुटगत विवाद हटाउँदै एकताबद्ध बनाउनुपर्नेमा जोड दिए। “गाउँ-गाउँमा एक कांग्रेसले अर्को कांग्रेसको मुख हेर्नुपर्ने स्थिति आउनुहुँदैन,” उनले भने, “जिम्मेवारीबोध, विचारमा स्पष्टता, र संसदीय प्रभावकारिता बढाउन सके मात्र कांग्रेसले सशक्त रूपमा अगाडि बढ्न सक्छ।”
उनले भ्रातृ संस्थाहरूको अधिवेशन समयमै सम्पन्न गर्दै नयाँ पुस्तालाई पार्टीमा ल्याउनु आवश्यक रहेको उल्लेख गरे। साथै, पार्टीभित्र प्रशिक्षण तथा वैचारिक बहसलाई प्रभावकारी बनाउनु पर्नेमा पनि उनले ध्यानाकर्षण गराए।
सरकारमा सत्तासाझेदार एमालेसँगको सम्बन्धबारे टिप्पणी गर्दै साउदले आगामी चुनावमा जनतासँग निकट रहेका दलहरू नै विजयी हुने बताए। “हामी अहिले एमालेसँग सरकारमा छौँ। २०८४ को चुनावमा कांग्रेस र एमालेबीच प्रतिस्पर्धा हुनेछ,” उनले भने, “जो जनताका बीचमा पुग्छ, जसले आफ्ना सांसदलाई जनताको सेवामा परिचालित गर्छ, उसैले चुनाव जित्नेछ।”
साउदले पार्टीभित्र सांगठनिक र वैचारिक सुदृढीकरणलाई पहिलो प्राथमिकता दिनुपर्ने धारणा राख्दै कांग्रेसले आफ्नो पहिचान र कार्यसम्पादन क्षमतालाई मजबुत बनाउनुपर्ने बताए। उनले यसबारे पार्टीकै केही नेताहरू असन्तुष्ट देखिएको गुनासोसमेत गरे।
“एमालेसँग हाम्रो सहयात्रा छ, तर सँगसँगै प्रतिस्पर्धा पनि छ,” उनले भने, “तर, कांग्रेसले आफ्नो वैचारिक तथा सांगठनिक अस्तित्व जोगाएर अगाडि बढ्नुपर्छ भन्दा केही साथीहरू चित्त दुखाइरहनुभएको छ।”