काठमाडौँ । गृहमन्त्री रमेश लेखकले भूकम्पपछिको क्षति आँकलन, पुन:निर्माण र पुन:स्थापनालाई तीव्रता दिइएको बताएका छन् ।
सिंहदरवारमा आज बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २९औँ बैठकमा गृहमन्त्री लेखकले जाजरकोट, डोटी र बझाङमा भूकम्पपछिको क्षतिको आँकलन, पुन:निर्माण र पुन:स्थापनालाई सरकारले तीव्र रूपमा अघि बढाएको जानकारी दिए। भूकम्पपछिको पुन:निर्माण एवं पुर्नस्थापनाका लागि जाजरकोट, डोटी र बझाङमा पुर्ननिर्माण तथा पुन:स्थापना आयोजना कार्यान्वयन इकाइको कार्यालय उद्घाटन गर्ने तयारी गरिएको उनले जानकारी दिए ।
“हामीले बितेको ६ महिनामा विस्तृत क्षति आँकलन र निजी घरको पुन:निर्माण एवं पुन:स्थापन गर्न आवश्यक मापदण्ड बनाउने, नियमावली बनाउने र बजेट व्यवस्थापनको काम गरेका छौँ”, गृहमन्त्री लेखकले भने, “त्यहाँ केन्द्रबिन्दु भएर गएका भूकम्पबाट निजी घरमा भएको क्षति आँकलन गर्ने काम अगाडि बढ्नुका साथै पुन:निर्माण र पुन:स्थापनको काम अगाडि बढाएका छौँ ।”
मन्त्रालयले गतवर्ष जाजरकोट र बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्पपछिको पुन:निर्माणलाई प्रभावकारी रूपमा अघि बढाउने गरी कार्ययोजना ल्याएको छ । गृहमन्त्री लेखकले आगामी साता बझाङ, अछाम र जाजरकोट पुगेर पुन:निर्माण तथा पुन:स्थापना आयोजना कार्यान्वयन इकाइको कार्यालय उद्घाटनका साथै त्यहाँको अवस्थाबारे जानकारी लिने गृह मन्त्रालयले जनाएको छ ।