काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माबिना पार्टीका शीर्ष नेताहरूको बैठक बसिरहेको छ । सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा वर्तमान र पूर्व पदाधिकारीको बैठक जारी छ ।
बैठकमा दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा भने अनुपस्थित छन् ।
मौसममा खराबी हुँदा प्लेन उड्न नसकेपछि महामन्त्री थापा सडक मार्गबाट काठमाडौँ आइरहेका छन् । सडक मार्गबाट आइरहेको हुँदा थापा पार्टी बैठकमा सहभागी हुन नसकेको बताइएको छ ।
नेपाल लिट्रेचर फेस्टिबलमा शुक्रबार भएको ‘निराशा व्याख्या र वास्तविकता’ सेसनमा थापा वक्ता थिए । महामन्त्री थापा बिहीबार पोखरामा भएको लोकतान्त्रिक उद्योग वाणिज्य संघ गण्डकी प्रदेशको तेस्रो स्थापना दिवसमा सहभागी भएका थिए ।
अर्का महामन्त्री शर्मा भने गृह जिल्ला झापामा छन् । शर्मा २३ फागुनमा मात्रै काठमाडौँ आउने भएका छन् ।
अध्यादेश, संसद्मा दर्ता भएका विधेयक, भ्रातृ संस्थाको अधिवेशन लगायतमा छलफल गर्न सभापति देउवाले शीर्ष नेताको बैठक बोलाएका थिए ।