काठमाडौँ । गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण पाठकले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) प्रति आक्रोश पोख्दै सामाजिक सञ्जालमा स्ट्याटस लेखेका छन्। मन्त्री पाठकले मेयर साहको काम गर्ने शैली र उनी उठाउने विषयप्रति प्रश्न उठाउँदै कडा आलोचना गरेका छन्।
उनले बालेनलाई लक्षित गर्दै लेखेका छन्, “यथेष्ट प्रमाण जुटाएर प्रमुख प्रशासकीय अधिकृतलाई कारबाही गर्न नसक्ने, छानबिन समितिको प्रतिवेदन लुकाउने, बहालवाला प्रमुख प्रशासकीय अधिकृतलाई गेटबाट भित्र पस्न समेत नदिने अनि कार्यकारी पठाएन भनेर प्रधानमन्त्रीलाई आक्रोश पोख्ने? के हो बालेन भाइ तिम्रो पारा?”
मन्त्री पाठकले कानुनी प्रक्रिया भन्दा बाहिर गएर कसैले पनि काम गर्न नपाउने भन्दै बालेनलाई नियम कानुनको दायराभित्र रहन सुझाव दिएका छन्। उनले थपे, “हामी पनि कार्यकारी ठाउँमै बसेर काम गरिरहेका छौँ। नियम, कानुन र कार्यविधि भन्दा माथि कोही छैन र तिमी पनि छैनौ।”
साथै, उनले बालेनको नेतृत्वमा रहेको काठमाडौँ महानगरपालिकाले आफ्नो बजेटको एक चौथाइ मात्रै पुँजीगत खर्च गर्न सकेको भन्दै आलोचना गरेका छन्। “चार भागको एक भाग पनि पुँजीगत खर्च गर्न नसक्नेका कुरै चर्का। तिम्राजस्ता चर्का कुरा अरूलाई पनि गर्न आउँछ भन्ने हेक्का राख, भाइ,” उनले भने।
मेयर बालेन्द्र साहले काठमाडौं महानगरपालिकामा भइरहेका विभिन्न प्रशासनिक तथा नीतिगत विषयमा बारम्बार सरकार र सम्बन्धित निकायलाई प्रश्न उठाउँदै आएका छन्। यसअघि पनि उनले संघीय सरकार, प्रधानमन्त्री तथा अन्य निकायहरूसँग असन्तुष्टि जनाउँदै विभिन्न मुद्दा उठाएका थिए।
मन्त्री पाठकको यो टिप्पणीपछि सामाजिक सञ्जालमा विविध प्रतिक्रिया देखिएको छ। कतिपयले बालेनको पक्ष लिँदै उनले लडिरहेको प्रशासनिक संघर्षलाई समर्थन गरेका छन् भने केहीले मन्त्री पाठकको भनाइलाई उचित ठहर गर्दै स्थानीय तहका जनप्रतिनिधिले कानुनी दायराभित्र रहेर काम गर्नुपर्ने तर्क गरेका छन्।