काठमाडौँ । पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका साथै स्थानीय वायुको सम्मिश्रणले देशका केही स्थानमा बदली र वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार विशेष गरी कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनुका साथै अहिले कोशी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ । बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहेको उनले बताए ।
दुई दिनदेखि बिग्रिएको मौसम शनिबारदेखि सुधार हुँदै जानेछ । “आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भेगमा हल्का वर्षा र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ”, मौसमविद् अधिकारीले भने “शनिबारदेखि मौसम बिस्तारै सुधार हुँदै जानेछ ।”
प्रि-मनसुनी गतिविधि सक्रिय भएको जनाउँदै उनले पश्चिमी न्यूनचापीय प्रणालीको समान्य प्रभावका साथै स्थानीय वायुको सामान्य प्रभावले बदली र केही स्थानमा वर्षा गराएको उल्लेख गरे । महाशाखाका अनुसार बिहीबार र आज काठमाडौँको आकाश सामान्यतया बदली रहेको छ ।