काठमाडौँ । लुम्बिनी प्रदेशमा विपदबाट चालु आर्थिक वर्षमा २ सय ९८ जनाले ज्यान गुमाएका छन्। त्यस्तै ६ सय ४१ घाइते र १८ जना बेपत्ता भएका छन्।
यस वर्ष हालसम्म एक हजार ७५२ विपद्का घटना घटेको लुम्बिनी प्रदेश विपद् व्यवस्थापनले जनाएको छ।
मंगलबार मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको लुम्बिनी प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले यस वर्ष भएको मानवीय तथा भौतिक क्षतिबारे प्रतिवेदन पेस गरेको हो।
उनीहरूले २०८० को तुलनामा यस वर्षमा मानवीय क्षति बढी भएको प्रतिवेदन पेस गरेका छन्।
गत वर्ष एक हजार दुई सय २० घटना भएको थियो। जसबाट ७६ जनाको मृत्यु भएको थियो। भने एक सय ९६ जना घाइते भएका थिए।
प्रदेशका जिल्ला प्रमुखले विपदबाट भएको मानवीय क्षतिसहितको विवरण पेस गरेका हुन्।
प्रतिवेदनमा चालु आर्थिक वर्ष २०८१ र ०८२ मा राहत र पुनर्निर्माणका लागि एक करोड २१ लाख २२ हजार रुपैयाँ वितरण गरिएको देखिएको छ।
जसमा राहतको लागि एक करोड ६ लाख ३७ हजार र पुनर्निर्माणका लागि १४ लाख ८५ हजार रुपैयाँ वितरण गरिएको हो।विपद् राहतलाई बीमा र सीप उत्पादनसँग जोड्ने लुम्बिनी प्रदेशले योजना अघि सारेको छ।
यस बैठकमा विभिन्न ११ वटा एजेन्डामा छलफल गरेको छ।
भूकम्प, बाढी, पहिरो, चट्याङ, असिना, हुरी, अतिवृष्टिको जोखिमबारे चर्चा गरिएको मुख्यमन्त्री आचार्यले जानकारी दिए।
उनका अनुसार प्रदेशले विपद् व्यवस्थापनका लागि विपद् पूर्व, विपद् भएको बेला र विपद् पश्चातको अवस्थालाई ध्यानमा राखेर काम हुन्छ।
बैठकले पाल्पाको पर्यटकीय गन्तव्य रानीमहलको नदी कटान संरक्षण, तानसेनको सुकुम्बासी बस्ती सुरक्षा, बाँकेको राप्ती नदी कटान जोखिम न्यूनीकरण, कर्णाली नदीको बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको क्षेत्रमा सिँचाइको काम अघि बढाउन बजेट छुट्याउने निर्णय गरेको छ।