काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कागेश्वरी मनोहरा नगरपालिका-४ बस्ने हाल भक्तपुर नगरपालिका-५ घर भएका २८ वर्षीय सुरेश माक छन् ।
प्रहरीका अनुसार सुरेशले सर्बिया पठाइदिन्छु भन्दै ५ जना पीडितहरूबाट ३२ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए । उनी सम्पर्कविहीन भएपछि पीडितहरू दिएको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई मंगलबार काठमाडौँ बौद्धबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।